नेपाल प्रहरीले मुगुस्थित डोल्फु गाउँबाट लुटिएका बहुमूल्य थप सामानहरू बरामद गरेको छ। गत १२ जेठमा लुटेरा समूहले अत्याधुनिक हतियार देखाई डोल्फु गाउँका २४ घर र एउटा सार्वजनिक गुम्बाबाट नगद, सुन, चाँदी, मूर्ति, बहुमूल्य सरसामान, गहना र यार्सागुम्बा लुटेको थियो।
प्रहरीले लुटपाटमा संलग्न जुम्लाकै गुठीचौर गाउँपालिका– ३ का धनप्रसाद भण्डारीलाई खोजतलास गर्ने क्रममा भण्डारीकै घरमा लुकाएर राखेको अवस्थामा बहुमूल्य सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख डिएसपी वीरेन्द्र थापाले जानकारी दिए।
उनका अनुसार संयुक्त प्रहरी टोलीले चाँदीका सिक्काको माला दुईवटा (१०९ सिक्का), चाँदीको पैसा सिक्का ७० वटा, चाँदीका सिक्काको औँठी चारवटा, माला मोती दाना ३५ वटा, पहेँलो मुगा दाना ३० वटा, हरियो मुगा दाना ५८ वटा बरामद भको छ।
यस्तै, सुनको ढुंग्रो १.९५७ तोला, सुनको तीन टुक्रा रिङ ०.४९५ तोला, सुनको चेन टुक्रा ०.५१६ तोला, चाँदीको हुक्काको टुक्रा तीन तोला, चाँदी र तामाको हुक्काको टुक्रा एक तोला, चादीको लकेट माला पाँच थान, चाँदीको टुक्रा ६.९७ तोला, सानोखाले रातो मुगा ३२.९१० तोला, तामा तारको टुक्रा ०.१९९ तोला र ढुंगाजस्तो टुक्रा ०.४०० तोला पनि प्रहरीले बरामद गरेको छ।
लुटेरा समूहले डोल्फु गाउँका २४ वटा घर तथा एउटा गुम्बाबाट ३५ तोला सुन, ९९४.५ तोला चाँदी, बुद्धको मूर्ति, रिणिमोक्ष माईको मूर्ति, मुगाको माला ९५ तोला, यार्सा, मोबाइल र ५० लाख २५ हजार नगद लुटेर लगेको स्थानीयले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।
घटनाको करिब डेढ महिनापछि प्रहरीले लुटेर समूहका तीनजनालाई पक्राउ गरेपछि ती सामान बरामद भएका हुन्। लुटपाटमा आठजना संलग्न रहे पनि अन्य फरार रहेका छन्।
प्रहरीले गत आइतबार एसएलआर राइफल एक थान, दुई थान म्याग्जिन, त्यसमा लाग्ने २५ राउन्ड गोली, कटुवा पेस्तोल एक थान, तीन थान सञ्चार सेट, एक थान बाइनाकुलरलगायतका बरामद सामान सार्वजनिक गरेको थियो।
लुटपाटमा संलग्न जुम्लाको गुठीचौर गाउँपालिकाका– ३ का आक्रोश पर्शे भनिने गणेश भण्डारी, पूर्णप्रसाद भण्डारी र वडा नम्बर ४ का कमल थापालाई प्रहरीले आइतबार सार्वजनिक गरेको थियो।