६४ वर्षअघि स्थापना भएको कञ्चनपुरको जेठो विद्यालय जहिले बाढीको चपेटामा पर्दै आएको छ । पञ्चायतकालीन समय ०१७ सालमा तत्कालीन रौतेली गाविस– ७ मोहनपुरमा स्थापना भएको जेठो गणेश माध्यमिक विद्यालय अहिले पनि बाढीको चपेटामा पर्दै आएको छ । उत्तरी चुरे भएर बग्ने चौधर नदीको सिरानी गाउँमै रहेको विद्यालय बाढीकै कारण चपेटामा पर्दै आएको हो ।
०४५ सालतिर चौधर नदीमा आएको बाढीले मोहनपुरमा रहेको विद्यालय उतिवेला क्षति भएर भुर्षा गाउँमा सारेकाे जनाइएकाे छ । भुर्षामा रहेको विद्यालय ०४७ सालको बाढीले फेरि क्षति गरेपछि इमलिया गाउँमा सारिएको थियो । बाढीबाट बच्नका लागि सुरक्षित स्थानमा सर्दै आएको विद्यालय फेरि २४ असार ०८१ सालमा चपेटामा परेको छ । ०६५ सालमा चौधर नदी गाउँ पस्दा पनि गणेश माविमा क्षति पुगेको थियो । १६ वर्षपछि फेरि चौधर नदी गाउँ पस्दा मुहानमै रहेको गणेश मावि फेरि चपेटामा परेको हो ।
चौधर नदीमा आएको बाढी गणेश माविको सिरानी उत्तरबाट महाकाली सिँचाइको नहर फुटाएर गाउँमा पस्दा विद्यालयमा ठूलो क्षति भएको छ । गणेश माध्यमिक विद्यालयका प्रधानाध्यापक जनक थापाले विद्यालय स्थापनादेखि तीनपटक बाढीकै कारण सारिएको बताए । प्रधानाध्यापक थापाले चौधर नदीमा आएको बाढीले पटकपटक विद्यालय विस्थापित र क्षति हुने गरेको बताए। ‘स्थापना भएको ६ दशकको अवधिमा दुईपटक विद्यालय नै स्थानान्तरण गरियो, पटक–पटक डुबानमा परियो,’ प्रधानाध्यापक थापाले भने, ‘दुईपटक विद्यालय बगाउँदा तेस्रोपटक यहाँ इमलिया सारेका थियौँ, अहिले पनि बाढीकै चपेटामा परेका छौँ।’
अहिले भौतिकतर्फ ठूलो क्षति नभए पनि शैक्षिक सामग्री नष्ट भएको प्रधानाध्यापक थापाले बताए । ‘०६५ सालको बाढीले पुरानो भवनमा क्षति गरेको थियो,’ प्रधानाध्यापक थापाले भने, ‘अहिले त बढीजस्तो शैक्षिक सामग्री भिजेर नष्ट भएका छन् ।’ प्रधानाध्यापक थापाका अनुसार विद्यालयको पर्खाल भत्किएको छ, खेलमैदानमा बालुवा भरिभराउ भएको छ । पुुस्तकालय, स्टाफकक्ष, कागजात, विद्युत्, इलेक्ट्रोनिक सामग्री, फर्निचर, शिक्षक, कर्मचारीका अभिलेखसहितका शैक्षिक कागजात नष्ट भएका छन् ।
‘चालू शैक्षिक सत्रको २३ असारसम्म त्रैमासिक परीक्षा थियो, हामीले भोलिपल्ट २४ असारमा पनि विद्यार्थीलाई बर्खे बिदाका लागि होमवर्क गर्न बोलाएका थियौँ, तर बाढीले विद्यार्थी आउनै सकेनन्, विद्यार्थी विद्यालय पुगेपछि बाढी आएको भए थप दुर्घटना हुन्थ्यो, अहिले त भौतिकतर्फ मात्रै क्षति भयो,’ प्रधानाध्यापक थापाले भने । अहिलेको अवस्थामा विद्यालय सञ्चालन गर्न नसकिने प्रधानाध्यापक थापाको भनाइ छ ।