बाढीबाट विस्थापित फर्किन थाले घर
चार दिनदेखिको भीषण वर्षाले बाढी र डुबानको चपेटामा परेका कञ्चनपुर र कैलालीका बाढीपीडित घर फर्किन थालेका छन् । कञ्चनपुरको चौधर नदीमा आएको बाढीले विस्थापित पीडित मंगलबार बिहानैदेखि घर फर्किन थालेका हुन् । चौधर नदी महाकाली सिँचाइको नहर बाँध भत्काएर बेलडाँडी गाउँपालिका– ५ इमलियाबाट गाउँमा पसेको थियो । बेलडाँडी इमलियामा रतन रानाले घरमा पानी कम भएपछि फर्किएको बताए । ‘अब घरमा पानी घटेको छ, घरको पनि सरसफाइ गर्नुपर्यो, वस्तुभाउसहित सुरक्षित स्थानमा आएका थियौँ, अब घर फर्किंदै छौँ,’ उनले भने । इमलियाकै अर्की स्थानीय सुनिता रानाले चौधर नदीमा बलियो तटबन्ध निर्माण नगर्दासम्म त्रासै रहेको बताइन् ।
चौधर नदी गाउँ पसेपछि मुखमै रहेको गणेश माध्यमिक विद्यालयमा समेत ठूलो क्षति भएको छ । विद्यालयको पर्खालदेखि कागजातसमेत नष्ट भएका छन् । गणेश माविका प्रधानाध्यापक जनक थापाले भौतिक संरचनासहित कागजात भिजेर नष्ट भएको बताए । बेलडाँडी गाउँपालिकाका प्रमुख हरीशचन्द्र रानाले ०६५ मा चौधर नदीले महाकाली सिँचाइको नहर फुटाएर गाउँ फस्दा चार–पाँच घर भत्काइदिएको र सयौँको संख्यामा पशुधन क्षति भएको बताए । यसपटक पनि विगतमा गाउँ पसेको स्थानदेखि केही पूर्वतिरबाट नदी गाउँ पसेको छ ।
चौधर नदी गाउँ पसेपछि अहिले बेलडाँडीको इमलियासहित ढकनिया, खैरीघाट र बेलौरीको भुडा क्षेत्र डुबानमा परेको छ । दोदा नदीबाट विस्थापित पुनर्वासको सिमरी, जगबुढाबाट विस्थापित दोधाराचाँदनीका पीडित घर फर्किन थालेको प्रहरीले जनाएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटाले बाढीबाट विस्थापित घर फर्किने क्रम जारी रहेको बताए । मंगलबारसम्म चार हजार मानिस घर फर्किसकेको उनको भनाइ छ ।
आश्रयस्थलबाट घर फर्किए पनि उनीहरूलाई अब दैनिक गुजारा चलाउन चिन्ता भएको छ । जगबुढा नदीबाट विस्थापित दोधराचाँदनी नगरपालिका– १० शान्ति टोलकी सुनिता सार्कीले बाढीले घरमा भएको सबै सामान नष्ट गरिदिएको बताइन् । ‘घरमा बाढी पस्यो, ज्यान जोगाउन अम्बिका माविमा दुई रात बिताइयो । घरको सबै अन्न भिजेर नष्ट भएको छ, अब खाने के ? आश्रयस्थलमा खाना त दिए, अब घरमा दैनिक छाककै चिन्ता छ,’ उनले भनिन् ।
बाढी घटे पनि घरभित्र हिलो
कैलालीको भजनी नगरपालिका– ८, सोनाफाँटाका गणेश विकको परिवार बाढीबाट विस्थापित भएको चार दिनपछि मंगलबार घर फर्किएको छ । सोमबार दिउँसोबाट घाम लागेपछि बस्तीको डुबान हटेको छ, तर बाढीले घरभित्र जमेको हिलो भने सुकेको छैन । चार दिनअघि घरसहित बस्ती नै डुबानमा परेपछि ६ जनाको परिवार लिएर उनी गाउँनजिकको सुरक्षित सामुदायिक घरमा बसेका थिए । ‘बाढी सुके पनि घरभित्र हिलो छ,’ उनले भने, ‘बाहिर बस्नुभन्दा घरमै ठीक होला भनेर फर्कियौँ ।’
सोनाफाँटाकै खेम पाण्डेयको परिवार पनि मंगलबार घर फर्किएको छ । घरको आधा भागसम्म डुबानमा परेकाले बाढी सुके पनि घरभित्र ओसिलो रहेको उनले बताए । घर डुबानमा परेपछि शनिबार बेलुकी उनको परिवार विस्थापित भएर हुलाकी राजमार्गमा सरेको थियो । बाढीले घर डुबानमा परेपछि विस्थापित गाउँका सबैजसो परिवार घर फर्केका उनले बताए ।
तीन दिनसम्म भएको अविरल वर्षाका कारण आएको बाढीले घर डुबानमा परेपछि भजनीमा तीन सय १३ परिवार विस्थापित भएका थिए । हुलाकी राजमार्ग, स्थानीय विद्यालय र सामुदायिक भवनमा बसेका उनीहरू घर फर्के पनि पुनः बाढी आउने हो कि भन्ने त्रासमा छन् । बाढी आए पुनः विस्थापित हुनुपर्ने भएकाले कतिपयले हुलाकी सडकमै त्रिपाल टाँगेर राखेका छन् ।