अविरल वर्षाका कारण सडकमाथिबाट आएको लेदोसहितको पहिरो खस्दा मध्यपहाडी लोकमार्गको बागलुङखण्ड अवरुद्ध भएको छ । बागलुङको गलकोट नगरपालिका– १ दुदिलाभाटी झाँक्रीस्थानमा सडकमाथिदेखि पहिरो खस्दा बाटो अवरुद्ध भएको हो ।
सडकमा लेदोसहितको पहिरो आउँदा गएरातिदेखि नै सडक अवरुद्ध भएको जिल्ला प्रहारी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । पहिरो हटाएर सडक खुलाउने प्रयास भइरहे पनि केही समय लाग्ने उनले बताए ।
लोकमार्ग अवरुद्ध हुँदा पश्चिम बागलुङसहित पूर्वी रुकुम, पश्चिम रुकुम र जाजरकोटदेखि पोखरा, काठमाडौं जाने यातायातका साधन ठप्प भएका छन् । पहिरोकै कारण काठमाडौंदेखि आएका रात्रिबससमेत बाटोमै रोकिँदा यात्रु अलपत्र परेका छन् । वर्षा निरन्तर भएका कारण सडक सञ्चालन गर्न कठिनाइ भएको छ ।
पहिरोकै कारण कालीगण्डकी करिडोर पनि पाँच दिनदेखि अवरुद्ध भएको छ । बागलुङ नगरपालिका– १० भकुण्डे दब्ल्याङको पहिरोका कारण करिडोरसँगै दक्षिण बागलुङ जोड्ने अन्य सडक पनि अवरुद्ध भएका छन् ।