सूर्यबाट आउने रेडियो वेभ उत्पन्न हुने स्रोतको खोजीका लागि नासाको क्युबस्याट रेडियो इन्टरफेरोमेट्री एक्सपेरिन्ट (क्युरी) मंगलबार प्रक्षेपण गरिएको छ।
युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए)को एरियन–६ रकेट कोउरोस्थित गुयाना स्पेस सेन्टरबाट क्युरी प्रक्षेपण गरिएको हो। उक्त रकेट पृथ्वीको सतहबाट ३६० माइल (लगभग ५८० किलोमिटर)को उचाइमा उडान गर्नेछ।
रेडियो इन्टरफेरोमेट्री एक्सपेरिमेन्ट मिसनले सूर्यको विष्फोटनबाट निस्कने रेडियो तरंगको उत्सर्जनबारे अध्ययन गर्ने लक्ष्य राखेको छ।
क्यालिफोर्निया विश्वविद्यालय बर्कलेको टोलीद्वारा डिजाइन गरिएको क्युरी अन्तरिक्षबाट ०.१–१९ मेगाहर्ज फ्रिक्वेन्सी दायरामा रेडियो तरंग मापन गर्ने आफ्नो पहिलो मिसन भएको इएसएले जनाएको छ। यस प्रकारको अनुसन्धान अन्तरिक्षबाट मात्र गर्न सकिन्छ।
‘सौर्य रेडियो तरंग अनुसन्धानका क्रममा, क्युरीले लो फ्रिक्वेन्सी रेडियो इन्टरफेरोमेट्री नामक प्रविधि प्रयोग गर्नेछ। यसअघि अन्तरिक्षमा यो प्रविधि कहिल्यै प्रयोग गरिएको थिएन। यसले पृथ्वीलाई करिब दुई माइल टाढाबाट परिक्रमा गर्नेछ,’ नासाले भनेको छ।
यस प्रयोगले रेडियोका ती तरंगहरू कहाँबाट आइरहेका छन् भन्ने पत्ता लगाउने प्रयास गर्नेछ।