हिमाली जिल्ला मनाङमा यार्तुङको रौनक

मंगलबार, २५ असार, २०८१
डिजिटल संस्करण

हिमालपारिको जिल्ला मनाङमा यार्तुङको रौनक सुरु भएको छ । यसपटकको यार्तुङलाई विशेष बनाउन मनाङीहरूले विशेष कार्यक्रमको आयोजना गरेका छन् । मनाङमा ‘यार्तुङ’ सबैभन्दा ठूलो पर्व हो । घोडेजात्राको रूपमा लिइने यस पर्वलाई स्थानीयले ‘यार्तुङ’ भन्ने गर्छन् । स्थानीयका अनुसार ‘यार्तुङ’ तिब्बती भाषाको शब्द हो । पर्यटन व्यवसायी समिति मनाङका अध्यक्ष विनोद गुरुङका अनुसार ‘यार’को अर्थ वर्षा र ‘तुङ’को अर्थ पर्व हो । वर्षायाममा खेतीबाली लगाइसकेपछि रमाइलो गरेर थकान मेटाउन यार्तुङको परम्परा सुरु भएको मानिन्छ ।

यार्तुङलाई विशेष बनाउन ग्रान्ड यार्तुङ २०२४ को आयोजना गरी महोत्सवकै रूपमा मनाइँदै छ । यसअन्तर्गत घोडादौड, आर्चरी र डोरी तान्ने खेललाई प्रतियोगिताको रूपमा समावेश गरिएको छ । आइतबारबाट सुरु भएको प्रतियोगिता शुक्रबार सकिनेछ ।

तीर हान्ने र घोडा दौडाउने पर्वको रूपमा चिनिने पर्व खेलकुदसँग सम्बन्धित रहेकाले प्रतियोगिताकै रूपमा मनाउन लागिएको हो । यस प्रतियोगितामा भाग लिन मुस्ताङबाटसमेत प्रतियोगीहरू मनाङमा पुगेका छन् । मााथिल्लो मनाङ, खाङसार, पिसाङ,  भ्राका, हुम्डे र सदरमुकाम चामेसम्म यो पर्व मनाइन्छ । माथिल्लो मनाङमा चार दिनसम्म यार्तुङ मनाउने गरिएकोमा यस वर्ष ६ दिनसम्म विभिन्न प्रतियोगिता गरी मनाउन लागिएको छ। प्रतियोगिताको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले एवं संरक्षण क्षेत्र व्यवस्थापन समिति मनाङका अध्यक्ष विनोद गुरुङले संयुक्त रूपमा उद्घाटन गरे।

टंकी मनाङ समाज र ङिस्याङ युवा क्लबको आयोजना तथा नेपाल प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, टंकी मनाङ पर्यटन व्यवस्थापन उपसमितिको आयोजनामा ग्रान्ड यार्तुङको आयोजना गरिएको हो।

सुरुमा मनाङ गाउँमा यार्तुङ मनाएपछि मात्रै अन्य गाउँमा यो पर्व मनाउने गरिन्छ । चामेमा भने फरक समयमा मनाउने गरिन्छ । उनका अनुसार माथिल्लो मनाङमा ‘यार्तुङ’ विशेष हुन्छ । वर्षायाममा आ–आफ्नो काममा व्यस्त मानिसहरू यही वेला एकजुट हुन्छन् । मनाङ र भ्राकाको सिमानामा घोडा दौडाउने ठाउँ बनाइएको छ । त्यही ठाउँमा घोडा दौडाउने गरिन्छ । ‘गहुँ, फापर, आलुलगायतका बाली लगाएपछि यार्तुङ मनाउने गरिन्छ,’ उनले भने ।

यस वर्षको यार्तुङमा युवाको बाहुल्य रहेको कान्छा गुरुङले बताए। खेतीपातीको काम सकेर यार्तुङ पर्व मनाउने पुरानो परम्पराले स्थानीयवासीसँगै विदेशी पर्यटकलाई समेत निकै लोभ्याउने गरेको अर्का स्थानीय विष्णु गुरुङ बताउँछिन्। यो पर्वलाई एउटा विजयाेत्सवको प्रतीकको रूपमा लिइने उनको भनाइ छ । विगतमा अनेकौँ सिमाना तथा अन्य विभिन्न कारणले झै–झगडा र लडाइँ भइरहने र जित्ने पक्षले विजयको उन्मादमा यो पर्व मनाउन सुरु गरिएको स्थानीय सोनाम लामाले बताए।

पछिल्लो समय पर्यटकले पनि चाख मानेर यो पर्व हेर्ने गरेका उनी बनाउँछन्। ‘यसबाट पर्यटन प्रवर्द्धनमा पनि टेवा पुगेको छ,’ उनले भने।

See More On

सुझावित समाचार