फ्रान्समा त्रिशंकु संसद्, मिलिजुली सरकार बन्ने निश्चित

मंगलबार, २६ असार, २०८१
डिजिटल संस्करण

फ्रान्सको संसदीय चुनावमा कुनै पनि दलले प्रस्ट बहुमत ल्याउन नसकेपछि राजनीतिक गतिरोध उत्पन्न भएको छ । निर्वाचन परिणामले देशमा त्रिशंकु संसद् बन्ने देखिएको छ । पछिल्लो मतपरिणाममा वामपन्थीहरूले अग्रता लिइरहेका छन् । वाम गठबन्धनले१९८ सिटमा अग्रता लिएको छ भने जेन लुक मेलिनकोन वामपन्थी दल न्यु पपुलर फ्रन्ट एक्लैले १८२ सिट ल्याएको छ ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँको मध्यमार्गी गठबन्धनले १५२ देखि १६९ सिट र मरिन लिपेनको अतिदक्षिणपन्थी नेसनल ¥याली (आरएन) तेस्रो स्थानमा छ । यसअघि पहिलो चरणमा भएको निर्वाचनमा आरएनले बहुमत ल्याएको थियो भने राष्ट्रपतिको पार्टी तेस्रो बनेको थियो । मध्यमार्गी गठबन्धनको पराजयपछि प्रधानमन्त्री गाब्रिअल अटलले राजीनामा दिने बताए पनि राष्ट्रपति म्याक्रोँले उनलाई ‘स्थायित्वका लागि’ पदमा कायम रहिरहन आग्रह गरेको बिबिसीले उल्लेख गरेको छ ।अनपेक्षित मतपरिणामबाट केही समर्थक दंग छन् । धेरै फ्रान्सेली मतदाताले आप्रवासनविरोधी, युरोपेली संघप्रति आलोचनात्मक धारणा राख्ने (युरोसेप्टिक) आरएन पार्टीले संसद्को सबैभन्दा ठूलो हिस्सा कब्जा गर्ने डर व्यक्त गरेका थिए ।

यातायात क्षेत्रमा काम गर्ने एलएफआईका कार्यकर्ता दलिल डियाबले भने, ‘हामी राहत महसुस गरिरहेका छौँ । वामपन्थी गठबन्धनको जितले फ्रान्सको भविष्यका लागि धेरै आशा पलाएको छ ।’ वामपन्थी न्यु पपुलर फ्रन्टका सयौँ समर्थक राजधानीको रिपब्लिक स्क्वायरमा उत्सव मनाउन भेला भएका थिए । तीनपटक राष्ट्रपति पदका उम्मेदवार बनेकी मरिन ले पेनले आरएन पार्टीले राष्ट्रिय चुनावमा पूर्ण बहुमत हासिल गर्ने र सरकारसमेत बनाउने आशा व्यक्त गरेकी थिइन् । तर, अधिकांश निर्वाचन क्षेत्रमा आरएनविरोधी गठबन्धन बनेपछि त्यो सपना चकनाचुर भयो । पेरिसको अर्को एक चोकमा आरएनका लागि वातावरण निराशपूर्ण देखिन्थ्यो । त्यहाँ भेला भएका आफ्ना समर्थकलाई सम्बोधन गर्दै नेता जोर्डन बर्डेलाले राष्ट्रपतिको पार्टीलाई ‘निर्वाचन प्रणाली’लाई गलहत्याएर अपवित्र गठबन्धन गरेको आरोप लगाए ।फ्रान्सको संविधानअनुसार सबैभन्दा ठूलो राजनीतिक समूहको प्रतिनिधिलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गर्छन् । वामपन्थी गठबन्धनले एक साताभित्र राष्ट्रपतिसमक्ष प्रधानमन्त्रीको नाम प्रस्ताव गर्ने जनाएको छ ।

निर्वाचन परिणामपछि आरएनका नेता जोर्डन बार्डेलाले आफ्नो दललाई विजयी हुनबाट ‘वञ्चित’ गरिएको र फ्रान्सलाई ‘अस्थिरता’तर्फ धकेलिएको आरोप लगाएका छन् । पहिलो चरणको निर्वाचन परिणामपछि आरएन पार्टीले उनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्ताव गरेको थियो । पहिलो चरणको निर्वाचनमा आरएनको पक्षमा नतिजा आएपछि धेरै स्थानमा मध्यमार्गी र वामपन्थीले अस्वाभाविक तालमेल गरेका थिए । धेरै निर्वाचन क्षेत्रमा वामपन्थी उम्मेदवारले मनोनयन फिर्ता लिएका थिए ।

समूहमा रहेका ६४ वर्षीय ओलिभर मोन्डेट यति धेरै मानिसले अति दक्षिणपन्थी समूह (आरएन) विरुद्ध मतदान गरेपछि आक्रोश पोख्दै भने, ‘उनीहरूले फ्रान्सेली जनतालाई पुरानो कुरा लुकाएका छन् ।’ त्यसैगरी, ३२ वर्षीया सेसिलिया जेन्नाडले परिणामबाट आफू निराश भएको बताइन । उनले भनिन्, ‘मानिसले वर्षौंदेखि आरएनलाई खलनायकको रूपमा प्रस्तुत गर्दै आएका छन् ।’ तर, अब आफ्नो ध्यान सन् २०२६ मा हुने स्थानीय तहको निर्वाचनको प्रतीक्षामा हुने उनले बताइन् । युरोपेली संसद्को चुनावमा अति दक्षिणपन्थीसँग हार व्यहोरेपछि राष्ट्रपति म्याक्रोँले एक महिनाअघि मध्यावधि चुनावको घोषणा गरेका थिए । चुनावी परिणामले फ्रान्सभित्र अनिश्चितता बढेको र राष्ट्रपति पनि कम शक्तिशाली बनेको विश्लेषकले बताएका छन् । भावी प्रधानमन्त्री को हुने भन्ने अहिलेसम्म स्पष्ट छैन, तथापि वामपन्थीले आफूहरूले सरकार बनाउने दाबी गरेका छन् ।  
 

सुझावित समाचार