देशभर ४२.६ प्रतिशत रोपाइँ

मंगलबार, २५ असार, २०८१
डिजिटल संस्करण

आइतबारसम्म देशभर ४२.६ प्रतिशत रोपाइँ सकिएको छ । कृषि विभागका अनुसार एक सातादेखि तराईमा आएको बाढीले रोपाइँको गतिमा केही असर भने गरेको छ । यद्यपि, असार अन्तिमसम्म ५० प्रतिशतभन्दा बढी क्षेत्रफलमा रोपाइँ भइसक्ने आकलन गरिएको विभागका उपमहानिर्देशक डा. अरुण काफ्लेले जानकारी दिए ।

प्रदेशस्थित कृषि मन्त्रालयबाट संकलित तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा रोपाइँ सकिन लागेको छ । त्यहाँ धानखेती हुने एक लाख ७४ हजार पाँच सय ७६ हेक्टर जमिनमध्ये ८६ प्रतिशतमा रोपाइँ सकिएको छ । त्यस्तै, गण्डकीमा ४९.७ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ ९६ हजार ५३ हेक्टर जमिनमा रोपाइँ हुने अनुमान छ ।

धानखेतीका लागि सबैभन्दा कम क्षेत्रफल ४१ हजार नौ सय चार हेक्टर रहेको कर्णालीमा ४७.५ प्रतिशत मात्रै रोपाइँ सकिएको छ । कर्णालीको पहाडी क्षेत्रमा रोपाइँ करिब सकिए पनि तराईका जिल्लाहरूमा खासै रोपाइँ हुन नसकेको विभागले जनाएको छ । धान धेरै उत्पादन हुने कोशी र मधेशमा असार दोस्रो हप्तादेखि रोपाइँले रफ्तार लिन थालेको छ । 
आइतबारसम्म कोशीमा ३४.४ प्रतिशत र मधेशमा २५.५ प्रतिशत रोपाइँ सकिएको छ । कोशीमा दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर र मधेशमा सबैभन्दा बढी तीन लाख ८३ हजार एक सय ५० हेक्टरमा धानखेती हुने अनुमान छ ।

बागमतीको एक लाख १४ हजार पाँच सय ६१ हेक्टरमध्ये ४०.२ प्रतिशत भूभागमा रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा ४४.४ प्रतिशत रोपाइँ सकिएको छ । यहाँ तीन लाख ११ हजार ६ सय ४३ हेक्टरमा रोपाइँ हुने अनुमान छ । यो वर्ष पनि गत वर्षकै हाराहारीमा रोपाइँ भइरहेको विभागको तथ्यांक छ । गत वर्ष यही समयमा देशभर ४२.९ प्रतिशत रोपाइँ भएको थियो ।

 पहाडमा छिटो तराईमा ढिलो रोपाइँ
भौगोलिक विविधताका कारण मुलुकभर एकै समयमा रोपाइँ हुने गरेको छैन । पहाडमा छिटो रोपाइँ गर्नुपर्ने बाध्यता रहेको कृषि विभागका उपमहानिर्देशक काफ्लेको भनाइ छ । ‘पहाडमा धान काट्ने वेला धेरै चिसो हुन सक्छ । त्यसैले छिटो रोपाइँ गर्न हामीले सिफारिस गर्दै आएका छौँ,’ उनले भने । ढिला रोपाइँ गर्दा काट्ने वेला चिसो बढेर उत्पादनमा असर गर्ने र बाली भिœयाउन पनि कठिन हुने भएकाले पहाडी तथा हिमाली क्षेत्रमा असारभित्रै रोपाइँ भइसक्ने विभागको भनाइ छ ।

तराईमा भने मौसमी अनुकूलताका कारण १५ साउनसम्म रोपाइँ गर्दा उत्पादनमा असर नपर्ने काफ्लेले बताए । ढिलो रोप्दा कम फल्ने भएकाले तोकिएको समयभित्रै बाली लगाउनु उपयुक्त हुने उनको भनाइ छ । पश्चिम तराईमा भने जेठदेखि नै रोपाइँ हुने गरेको छ ।

कृषि विभागका अनुसार मनसुन ढिला हुँदा किसानले समयमा धानको बिउ नराखेकाले पनि रोपाइँको प्रगतिमा असर परेको हो । सामान्यतया असार अन्त्यसम्ममा देशभर ८० प्रतिशतभन्दा बढी रोपाइँ हुनुपर्ने भए पनि पछिल्ला वर्षमा आधा भूभागमा मात्रै रोपाइँ हुने गरेको छ ।

 असार पहिलो सातादेखि रोपाइँ सुरु
यो वर्ष असार पहिलो सातादेखि किसानले रोपाइँ थालेका छन् । विभागले संकलन गरेको तथ्यांकअनुसार १२ असारसम्म देशभर ९.८ प्रतिशत रोपाइँ भएको थियो । १४ असारसम्म १७.१ प्रतिशत र १८ असारसम्म २१.३ प्रतिशत रोपाइँ भएको थियो । पछिल्लो एक सातामा भने दोब्बरले रोपाइँमा वृद्धि भएको हो । देशभर मनसुन सक्रिय भएकाले किसानले धमाधम रोपाइँ गरिरहेको कृषि विभागले जनाएको छ ।

असार अन्तिमसम्म धेरै ठाउँमा रोपाइँ भइसक्छ
डा. अरुण काफ्ले, उपमहानिर्देशक, कृषि विभाग

यो वर्ष असार पहिलो सातादेखि रोपाइँले गति लिइरहेको छ । एक सातादेखि देशभर मनसुन सक्रिय भएको मौकामा किसानले रोपाइँलाई तीव्रता दिइरहेका छन् । असारको अन्त्यसम्ममा रोपाइँमा उल्लेख्य प्रगति देख्न पाइनेछ । धानको बिउ राख्ने वेला पानी नपर्दा किसानले केही समस्या भोगेका थिए । अहिले कतिपय किसानले राखेको बिउ हुर्किनसकेकाले पनि रोपाइँ गर्न समस्या भएको हुन सक्छ ।

See More On

सुझावित समाचार