इरानी चुनावको वैश्विक प्रभाव

आइतबार, २३ असार, २०८१
डिजिटल संस्करण

इरानको विदेश नीतिमा राष्ट्रपतिको सीमित प्रभावलाई मध्यनजर गर्दा पेजेस्कियनको विजयले ‘एक्सिस अफ रेसिस्टेन्स’लाई रोक्न सक्दैन

इरानको राष्ट्रपतीय निर्वाचनको पहिलो चरण अघिल्लो साताको अन्त्यमा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । तर, सुधारवादी उम्मेदवार मसुद पेजेस्कियन र कट्टरपन्थी सइद जलिली द्वन्द्वतर्फ अघि बढिरहेका वेला विश्वको ध्यान इरानतर्फ केन्द्रित हुनुपर्छ । वर्तमान तनाव र बदलिँदो गठबन्धनलाई ध्यानमा राख्दा निर्वाचन परिणामले महत्वपूर्ण क्षेत्रीय र अन्तर्राष्ट्रिय प्रभाव पार्नेछ ।

निर्वाचनको पृष्ठभूमि अन्योलपूर्ण थियो । इरानका यसअघिका कट्टरपन्थी राष्ट्रपति इब्राहिम रइसीको गत मे महिनामा हेलिकोप्टर दुर्घटनामा मृत्यु हुँदा उनका स्पष्ट उत्तराधिकारी थिएनन् । त्यसमाथि असन्तुष्टिले पहिल्यै अस्तव्यस्त देशमा आन्तरिक विभाजनलाई तीव्र बनायो । सार्वजनिक दबाबका कारण इरानको गार्डियन काउन्सिलले नरमपन्थी पेजेस्कियनलाई चुनाव लड्न अनुमति दियो, तर सर्वोच्च नेता अयातुल्लाह अली खामेनीले उनको उम्मेदवारीलाई कमजोर पार्ने कोसिस गरे । सरकार धेरै हदसम्म कट्टरपन्थीद्वारा नियन्त्रित रहन्छ, जसका कारण क्रोध, उदासीनता वा राजीनामाजस्ता विभिन्न भावनाका कारण पहिलो चरणको चुनावमा इरानीले व्यापक बहिष्कार गरेका छन् ।

क्षेत्रीय परिदृश्य पनि आन्तरिक मामिलाजस्तै अस्तव्यस्त छ । इरानको विदेश नीति द्वन्द्वपूर्ण आवेगले निर्माण भएको छ । एकातिर राजनीतिक संक्रमणलाई सहज बनाउन र देशलाई पश्चिमा प्रतिबन्धको सामना गर्न सघाउन इरानका नेता क्षेत्रीय स्थायित्व होस् भन्ने चाहन्छन् । अर्कातर्फ इरान तथाकथित ‘एक्सिस अफ रेसिस्टेन्स’प्रति प्रतिबद्ध छ । एक्सिस अवसरवादी कर्ताको एक सामान्य सञ्जाल हो, जहाँ लेबनानका हिजबुल्लाह, यमनका हुथी र गाजाका हमास जोडिएका छन् । यिनले इजरायललाई नामेट पार्न र विश्व व्यवस्थामा अमेरिकालाई कमजोर बनाउने लक्ष्य राखेका छन् ।

इरान, हिजबुल्लाह र इजरायलले गाजामा इजरायलको आक्रमणपछि महिनौँसम्म यी शक्तिले सावधानीपूर्वक गरिरहेका काम–कारबाहीमा यो तनाव स्पष्ट थियो । तर, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतन्याहुले गत महिना गाजामा कारबाही घटाउने र लेबनानी सिमानामा सेना परिचालन गर्ने योजना बनाएको घोषणा गरेका छन् । यसो गर्नुको मुख्य कारण लेबनानबाट इजरायलमा रकेट आक्रमणमा भएको वृद्धि हो । ऐतिहासिक रूपमा अस्थिर रहँदै आएको मध्यपूर्वमा हालै केही समयका लागि स्थिरता आउन खोजेको भए पनि यो क्षेत्र थप अस्थिर हुने सम्भावना छ । सन् २०२० मा अमेरिकाको मध्यस्थतामा भएको अब्राहम सम्झौताले इजरायलले युएई र बहराइनजस्ता धेरै अरब राष्ट्रसँगको सम्बन्धलाई सामान्य बनाएको थियो । यसले अमेरिकालाई अन्य विश्वव्यापी प्राथमिकतामा ध्यान केन्द्रित गर्न मार्गप्रशस्त गर्यो, जसमा चीनको प्रतिरोध गर्ने र सन् २०२२ यता रुसको आक्रमणविरुद्ध युक्रेनलाई समर्थन गर्ने काम पर्थे । तर, हमाससँग इजरायलको द्वन्द्वले यो उभ्रिरहेको स्थिरतामा अवरोध पुर्यायो, जसले यस क्षेत्रमा नयाँ तनाव उत्पन्न गर्यो ।

गत वर्ष इरानले साउदी अरब र अन्य अरब राष्ट्रसँग कूटनीतिक सम्बन्ध पुनः सुरु गर्यो र यो सहजीकरण चीनको सहयोगमा भएको थियो । चीनको सहयोगले इरानको अर्थतन्त्रमा उल्लेख्य वृद्धि भएको छ, अर्थात् दैनिक तेल बिक्री १५ करोड डलर हाराहारीमा हुने गर्छ । रुससँगको इरानको घनिष्ठ गठबन्धनले पनि पश्चिमा प्रभावको प्रतिरोध गर्ने उद्देश्य राखेको छ । यो युक्रेनसँग रुसको द्वन्द्वका वेला यी मुलुकको आपसी समर्थनले स्पष्ट भएको छ । यसबाहेक इरानले रुसलाई पश्चिमा प्रतिबन्ध विशेषतः ऊर्जा र वित्तीय क्षेत्रमा सहयोग गरिरहेको छ । इब्राहिम रइसीको मृत्युपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले अयातोल्लाह खामेनीप्रति गहिरो समवेदना व्यक्त गर्दै रइसीको सम्झनामा श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

इरानले आफ्नो आणविक कार्यक्रमलाई अगाडि बढाउन विश्वव्यापी युक्रेन युद्ध, गाजा युद्ध र विभिन्न घटनाबाट हुने ध्यान विकर्षणको सदुपयोग गरिरहेको छ । हाल इरानले आणविक हतियार निर्माण गरिरहेको छैन, तर यसले महत्वपूर्ण क्षमता विकास गरेको छ, जसले प्रभाव विस्तारको चिन्ता बढाएको छ । आणविक हतियारले इरानको प्रभाव बढाएर विश्वव्यापी स्थिरतालाई चुनौती दिन सक्छ । आगामी राष्ट्रपतिको चुनावले यो मार्गलाई प्रभाव पार्न सक्छ । पूर्वविदेशमन्त्री मोहम्मद जाबेद जरिफद्वारा समर्थित उम्मेदवार पेजेस्कियन इरानको वर्तमान अडानविपरीत सन्तुलित विदेश नीति र नयाँ आणविक कूटनीतिको वकालत गर्छन् ।

तर, पेजेस्कियनले अमेरिकासँग मेलमिलाप गर्ने राजनीतिक जोखिम लिने सम्भावना भने छैन । विशेषतः अमेरिकाको आगामी चुनावमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्कने सम्भावनाका वेला मेलमिलापको जोखिम मोलिने देखिँदैन, किनभने ट्रम्प सन् २००८ मा इरान आणविक सम्झौताबाट पछि हटेका थिए । इरानको अबका राष्ट्रपतिबाट वार्ता एवं संवाद बढाउने प्रयास देखिनेछ, तर अन्तर्राष्ट्रिय समुदायसँग नयाँ आणविक सम्झौता अत्यन्त न्यून छ ।

हाल इरानले परमाणु–सक्षम राज्यका रूपमा आफूलाई कायम राख्न सक्छ, अर्थात् उक्साहटका समयमा आफूलाई आणविक युद्धका लागि तयार गराउन सक्छ । यद्यपि इरान अन्ततः एक आणविक हतियारयुक्त शस्त्रागार विकास गर्न अगाडि बढ्न सक्छ भन्ने सम्भावना देखिन्छ । यसले मध्यपूर्वमा बृहत् द्वन्द्वको जोखिम बढाउँछ, सम्भवतः इजरायल वा अन्य राष्ट्रका कदमबाट द्वन्द्व उत्पन्न हुन सक्छ । यी अस्थिर गतिशीलतालाई सम्बोधन गर्न परम्परागत रणनीतिबाट नभई पश्चिमबाट नयाँ र अभिनव दृष्टिकोण आवश्यक छ । अवसरले अहिलेका लागि इरानको नेतृत्वलाई समर्थन गर्छ ।

इरानको विदेश नीतिमा राष्ट्रपतिको सीमित प्रभावलाई मध्यनजर गर्दा पेजेस्कियनको विजयले एक्सिस अफ रेसिस्टेन्सलाई रोक्न वा यसको पश्चिमा प्रभुत्व भएको विश्व व्यवस्थालाई चुनौती दिने लक्ष्यलाई रोक्न सक्दैन । तर, राष्ट्रपतिले गठबन्धनको एकतालाई कमजोर बनाउने अवसर पाउन सक्छन् । यद्यपि यो अवसरलाई प्रभावकारी रूपमा सदुपयोग गर्नु पश्चिमका लागि चुनौतीपूर्ण हुनेछ किनभने अहिले त्यसो गर्न सुसंगत रणनीतिको अभाव छ ।

(प्यालेसिओ स्पेनकी पूर्वविदेशमन्त्री हुन्) प्रोजेक्ट सिन्डिकेटबाट

सुझावित समाचार