प्रधानमन्त्री–शेखर कोइराला भेट

७६(३) अनुसार सरकार बन्ने अवस्थाबारे छलफल, सहमतिकै पक्षमा रहेको शेखरको भनाइ

आइतबार, २४ असार, २०८१
डिजिटल संस्करण

कांग्रेस संस्थापनइतर समूहका नेता डा. शेखर कोइरालाले दिएको अभिव्यक्ति नयाँ बहस सिर्जना गरेकै वेला उनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटले राजनीति वृत्तमा थप तरंगित बनाएको छ । प्रधानमन्त्रीले २८ असारमा संसद्मा विश्वासको मत लिने तयारी गरिरहेका वेला आएको उनको अभिव्यक्तिले आलोपालो सरकारको नेतृत्व गर्ने गरी सहमति गरेका दुई दलका शीर्ष नेतालाई पनि सतर्क बनाएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेसका इतर समूहका नेता डा.शेखर कोइरालाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डले भेटका लागि आग्रह गरेपछि कोइरालाले शनिबार बिहान बालुवाटार पुगेर भेटवार्ता गरेको उनको सचिवालयले जनाएको छ । 

कोइरालाका स्वकीयसचिव दिनेशचन्द्र थपलियाले भेटमा परिवर्तित राजनीतिक परिस्थितिबारे छलफल भएको छ । कोइरालाले प्रधानमन्त्री प्रचण्डले संसद्मा विश्वासको मत नपाए ७६(३) अनुसार सरकार बन्नेतर्फ सचेत हुनुपर्ने बताएको अर्को दिन यी नेताबीच भेटवार्ता भएको छ । 

‘चार–पाँच दिनदेखि प्रधानमन्त्रीज्यूले भेट्न खोजिरहनुभएको थियो । देशको प्रधानमन्त्रीले बोलाउदाँ पनि नजाने विषय त गैरराजनीतिक हुन्छ भनेर बिहान बालुवाटार जानुभएको हो । उहाँहरूबीच करिब आधा घन्टा ‘वान अन वान’ कुराकानी भयोे,’ उनले भने, ‘भेटमा समसामयिक राजनीतिक विषयमा उहाँहरूबीच कुराकानी भएको हो । डा. सापले धारा ७६(३) अनुसार सरकार गठन हुन सक्ने आशंकाको अभिव्यक्तिमा प्रधानमन्त्रीको चासो राख्नुभएको थियो ।’ 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दुई नेताबीच समसामयिक विषयमा छलफल भएको बताए । ‘उहाँहरूबीच समसामयिक विषयमा छलफल भएको छ,’ उनले भने । 

कांग्रेस र एमालेले संविधानको धारा ७६(२)अनुसार आलोपालो सरकार बनाउने सहमति गरेका छन्् । सहमति दुवै पार्टीले अनुमोदनसमेत गरिसकेका छन् । तर, सहमतिको पूर्ण पाठ अहिलेसम्म गोप्य राखिएको छ । 

प्रधानमन्त्री प्रचण्डसँगको भेटमा डा.कोइरालाले आफू कांग्रेस–एमालेबीचको सहमतिको पक्षमा दृढ रहेको बताएका थिए । उनले आफ्नो अभिव्यक्ति मुलुक खतरातर्फ नजाओस् भन्ने रहेको बताएका छन् । 

‘म धारा ७६(३)अनुसार सरकार बनोेस् भन्ने पक्षमा होइन । संविधान संशोधनको विषयमा कांग्रेस र एमाले एक ठाउँमा हुनुपर्छ भन्ने विषयमा वकालत गर्दै आएको थिएँ । विगतमा तपाईंकै गतिविधिले सहकार्यमा समस्या आयो । दुई दलबीच सहमति भइसकेको छ, त्यसलाई कार्यान्वयन गरेर जानुपर्छ भन्नेमा दृढ छु । मेरो आशय दुई दलको सहमतिविपरीत धारा ७६(३)अनुसार सरकार बन्ने खतरा नहोस् भन्ने मात्र हो,’कोइरालाको भनाई थियो । 

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले धारा ७६(३) अनुसार सरकार गठन हुने कुनै सम्भावना नरहेको बताए । ‘कांग्रेस र एमालेबीच सरकार बन्ने सहमति बनेको छ । २८ असारमा प्रधानमन्त्रीले विश्वासको मत लिँदै हुनुहुन्छ । दुई ठूला दलबीच सहमति भएको अवस्थामा विश्वासको मत पाउने सम्भावना छैन । त्यसपछि संविधानको धारा ७६(२) अनुसार एमाले अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार बन्छ,’कांग्रेस संसदीय दलको बैठकपछि बानेश्वरमा प्रतिक्रिया दिँदै उनले भने ।

कोइरालाले विगतदेखि नै आफू कांग्रेस एमाले मिलेर जानुपर्ने पक्षमा रहेको अभिव्यक्ति दिँदै आएका थिए । कोइरालाले कोशी प्रदेशमा परीक्षणका रूपमा कांग्रेस–एमाले को गठबन्धन सरकार बनेको अभिव्यक्ति दिँदै आएका छन् । 

शुक्रबार कोइरालाले कांग्रेस–एमाले सहमति भए पनि खुसी भइहाल्ने अवस्था आइनसकेको भन्दै नयाँ सरकार गठन प्रक्रिया संविधानको धारा ७६(३)मा जान सक्ने आशंका व्यक्त गरेका थिए । ‘प्रचण्डजीले आजका दिनसम्म राजीनामा दिनुभएको छैन । प्रचण्डजीले राजीनामा दिनुभएन भने संविधानतः के हुन्छ ? हामीले सोच्नुपर्ने हुन्छ, किनभने हामी संविधानलाई टेकेर जानुपर्ने हुन्छ । प्रचण्डजीले राजीनामा दिनुभएन र विश्वासको मत लिने वेला कहीँ संविधानको धारा ७६(३)मा नजाओस्,’ जिपी कोइराला लेबर फाउन्डेसनले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भनेका छन् । 

राजनीतिक स्थायित्वका लागि संविधान संशोधनको उद्देश्यसहित कांग्रेस–एमाले गठबन्धन बने पनि सम्भावित परिस्थितितर्फ ध्यान दिनुपर्ने कोइरालाको भनाइ छ । ‘हुन त म संविधान धेरै पढ्ने व्यक्ति पनि होइन । तर, मेरो चासो उहाँ (प्रधानमन्त्री)ले विश्वासको मत लिनुभयो र फेल भयो भने ७६ को २ बाट ३ मा नजाओस् भन्ने मात्रै हो । त्यो गयो भने कोर्टमा जाला, के होला, झन्झट होला भन्ने मात्रै मैले देखेको हो,’ कोइरालाले भनेका थिए । 

विश्वासको मतको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप
कांग्रेसले २८ असारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । प्रमुख सचेतक रमेश लेखकका अनुसार शनिबार संसदीय दलको बैठकले ह्विप जारीसहित चार निर्णय गरेको हो ।

कांग्रेसले संविधानको धारा ७६ (२) अनुसार एमाले अध्यक्ष ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको अवस्थाबारे जानकारी गराउँदै विश्वासकोे मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको हो ।

‘कांग्रेस र एमालेबीच संविधानको धारा ७६ (२)बमोजिम केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भइसकेको अवस्थामा विश्वासको मतको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिएको छ,’ कांग्रेसको निर्णयमा छ । बैठकले कांग्रेस–एमालेबीचको सहमतिलाई समर्थन गर्दै सहमति कार्यान्वयनको दृढतासमेत व्यक्त गरेको छ । 

सुझावित समाचार