मधेशमा विश्वासको मतअघि चार दलका ६ मन्त्री बर्खास्त

कांग्रेस र लोसपा सरकारमा सहभागी हुने

शनिबार, २३ असार, २०८१
डिजिटल संस्करण

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले माओवादी केन्द्रसहितका ६ जना मन्त्रीलाई बर्खास्त गरेका छन्।

शनिबार विश्वासको मत लिनुअघि मुख्यमन्त्री सिंहले सरकारमा सहभागी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीका मन्त्रीहरूलाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री सिंहले माओवादी केन्द्रबाट अर्थमन्त्री बनेका भरतप्रसाद साह, उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराई, नेकपा एसबाट कृषि मन्त्री बनेका गोविन्द न्यौपाने र खानेपानीमन्त्री बेची लुंगेलीलाई बर्खास्त गरेका छन्। त्यसैगरी, नेपाल संघीय समाजवादी पार्टीबाट गृहमन्त्री बनेकी विमला अन्सारी र नागरिक उनमुक्ति पार्टीबाट यातायातमन्त्री बनेकी उर्मिला सिंहलाई बर्खास्त गरिएको मुख्यमन्त्री सिंहले जानकारी दिए।

बर्खास्तीको पत्र मुख्यमन्त्री सिंहले प्रदेश प्रमुखको कार्यालयलाई पठाएका छन्। मन्त्रीहरूको बर्खास्तीपछि मुख्यमन्त्री सिंहले सञ्चारकर्मीहरूसँग कुरा गर्दै केन्द्रमा फेरिएको गठबन्धनअनुसार नै नयाँ सरकार गठन गर्नुपर्ने भएकाले बर्खास्त गरिएको बताए।

बर्खास्त गर्नुअघि मन्त्रीहरूलाई राजीनामा दिन भनेको, तर राजीनामा नदिने बरु बर्खास्त नै गर्न भनेपछि बर्खास्त गरिएको सिंहको भनाइ छ। मुख्यमन्त्रीले शनिबार दिउँसो प्रदेश सभाबाट विश्वासको मत लिन लागेका छन्। त्यसअघि मुख्यमन्त्री सिंहले चार दलका मन्त्रीलाई बर्खास्त गरेका हुन्।

मुख्यमन्त्री सिंहलाई कांग्रेस र एमालेले विश्वासको मत दिने भएका छन्।  विश्वासको मत लिएलगत्तै कांग्रेस र लोसपालाई लिएर मुख्यमन्त्री सिंहले सरकार विस्तार गर्ने बताइएको छ।

सुझावित समाचार