‘रेलवे टु नो ह्वेयर’को मञ्चनसँगै ‘म्याडफेस्ट’ रंग महोत्सव सुरु

शुक्रबार, २१ असार, २०८१
डिजिटल संस्करण

मण्डला थिएटरका पूर्वविद्यार्थीले आयोजना गरेको रंग महोत्सव ‘म्याडफेस्ट २०२४’ सुरु भएको छ। संयोग गुरागाईंद्वारा निर्देशित नाटक ‘रेलवे टु नो ह्वेयर’ मञ्चन गर्दै महोत्सवको उद्घाटन गरिएको हो।

‘म्याडफेस्ट’का निर्देशक अनुप न्यौपानेले महोत्सवको शीर्षकझैँ युवाहरूको जोस र जाँगरले नै महोत्सव सम्भव बनेको बताए। अभिनेत्री पशुपति शर्माले युवा रंगकर्मीलाई यस किसिमको महोत्सवलाई निरन्तरता दिन उत्साह दिइन्।

कार्यक्रमकी प्रमुख अतिथि काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौंसँग रंगमञ्चको सम्बन्ध पहिलेदेखि रहेको उल्लेख गर्दै ‘म्याडफेस्ट’लाई निरन्तरता दिन आग्रह गरिन्। ‘काठमाडौंसँग रंगमञ्चको सम्बन्ध नजिकको छ। काठमाडौंमा पहिल्यैदेखि डबलीमा नाटक हुने गर्थ्यो,’ उनले भनिन्।

मण्डलाका थुप्रै कलाकारलाई वर्षौँ खाना–खाजा खुवाएका ‘मामा’ टेकनाथ पराजुलीलाई सम्मानस्वरूप कार्यक्रममा अतिथिका रूपमा बोलाइएको थियो। 

असार २१–२३ सम्म चल्ने यो महोत्सवमा ६ वटा नाटक देखाइनेछन्। ‘रेल्वे टु नो ह्वेयर’सँगै अदन बत्री र सुशान्त बस्नेतको लेखन तथा बस्नेतकै निर्देशनमा ‘मिरर’, श्रेया सिंहको लेखन तथा वेदना राईको निर्देशनमा ‘शिल्पिनी’, प्रवीण तामाङको लेखन र विजय तामाङ ब्लोनको निर्देशनमा ‘नुग्धा’, प्रितिशा अधिकारीको लेखन तथा निर्देशनमा ‘अगम’ र सागर कार्कीको लेखन तथा निर्देशनमा ‘अंकुरन’ मञ्चन हुनेछन्।

सुझावित समाचार