मनहरीमा लडेर घाइते एक पुरुषको मृत्यु

शुक्रबार, २१ असार, २०८१
डिजिटल संस्करण

मकवानपुरको मनहरीमा सडकछेउमा लडिराखेको अवस्थामा फेला परेका एकजना पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मृत्यु हुनेमा बारा जिल्लाको कोल्हवी नगरपालिका– ८ मधुवन घर भई हाल चितवन खैरेनी नगरपालिका– ९ सिमलटाँडीमा लेबर काम गर्ने ३२ वर्षीय पुजन राम रहेको प्रहरीले जनाएको छ ।

मकवानपुर प्रहरीका अनुसार गएराति मनहरी गाउँपालिका– ६ सुनाचुरीमा रहेको पेट्रोलपम्पअगाडि लडेको अवस्थामा उनलाई भेटिएको थियो । उनको भाइ नाता पर्ने २० वर्षीय राजेश रामले फेला पारी प्रहरी चौकी सुनाचुरीमा खबर गरेका थिए । 

घटनास्थल पुगेको प्रहरीले घटनाबारे बुझ्दा पुजन खयरघारीबाट लोथर बजारतर्फ पैदल फर्कने क्रममा लडेर घाइते भएका थिए । उनको दाहिने आँखीभौँमाथि भित्री चोट लागेको प्रहरीले जनाएको छ ।

उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्याइएकोमा उपचारको क्रममा गएराति ११ बजेर ५ मिनेटमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । शव पुरानो मेडिकल कलेज भरतपुरमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

See More On

सुझावित समाचार