आयल निगमको २६ करोडको सफ्टवेयर खरिद प्रकरणमा उद्योग मन्त्रालयले थाल्यो छानबिन

शुक्रबार, २१ असार, २०८१
डिजिटल संस्करण

नेपाल आयल निगमको २६ करोडको सफ्टवेयर खरिद प्रकरणमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले छानबिन थालेको छ । निगमका आर्थिक कारोबार, प्रशासनिक तथा व्यवस्थापकीयलगायत सबै गतिविधिलाई डिजिटलाइज्ड गर्न भन्दै भएको सफ्टवेयर प्रणाली खरिद प्रक्रियामा अनियमितता भएको सम्बन्धमा मन्त्रालयले समिति नै गठन गरेर छानबिन थालेको हो । 

मन्त्रालयले आपूर्ति शाखाका उपसचिव यमेन्द्र उपाध्यायको संयोजकत्वमा छानबिन समिति गठन गरेको छ । मन्त्रालयले आइतबार समिति गठन गरेको हो । समितिमा मन्त्रालयका अन्य चारजना कर्मचारी पनि संलग्न छन् । समितिले छानबिनको काम थालिसकेको छ । छानबिनका क्रममा समितिले खरिद प्रक्रियाका सुरुदेखिका सम्पूर्ण कागजात निगमसँग मागेको छ । निगम प्रशासन तथा सम्बन्धित शाखासँग पनि समितिले छलफल गरिरहेको छ । 

निगमले सफ्टवेयर खरिद गर्दा अनियमितता भएकोबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत उजुरी परेको थियो । उजुरी परेपछि त्यसउपर छानबिन गरी प्रतिवेदन पेस गर्न अख्तियारले मन्त्रालयलाई पत्राचार गरेको थियो । अख्तियारको पत्राचारपछि मन्त्रालयले छानबिन समिति गठन गरेको हो । समितिलाई १५ दिनको समय दिइएको छ । छानबिन टुंग्याएर मन्त्रालयले प्रतिवेदन अख्तियारमा पठाउनेछ । 

ठेक्का सम्पन्न नहुँदै र प्रणाली सञ्चालनमा नआउँदै निगम प्रशासनले वार्षिक मर्मत सम्झौता (एएमसी) गरेर दिएको दुई करोड ५२ लाख रुपैयाँमाथि प्रश्न उठेको छ । जब कि ठेक्का सम्पन्न भएर हस्तान्तरण भएको सफ्टवेयर प्रणाली प्रभावकारी रूपमा सञ्चालन पनि हुन सकेको छैन । ठेक्काअन्तर्गत हालसम्म सम्झौताबमोजिम डेढ करोड रुपैयाँबाहेक सबै भुक्तानी भइसकेको छ । कम्पनीले पनि काम सकिएको भन्दै सम्पूर्ण भुक्तानीका लागि ताकेता गरेको छ । तर, प्रणाली राम्रोसँग चल्न सकेको छैन । निगमले इआरपी (इन्टरप्राइजेज रिसोर्स प्लानिङ) अन्तर्गत जर्मन कम्पनी स्यापको सफ्टवेयर खरिद गरेको थियो ।

आयोजना सम्पन्न भएर हस्तान्तरण भएपछि सञ्चालनका क्रममा मर्मतका लागि एएमसी गर्नुपर्ने सम्झौतामा उल्लेख थियो । सामान्यतः ठेक्काको मान्यता पनि काम सम्पन्न भएपछि सञ्चालनका क्रममा एएमसी गरिन्छ । तर, आयोजना सम्पन्न नहुँदै निगमले एएमसीका नाममा भुक्तानी दिएको विषय विवादित हुन पुगेको छ । निगमले ठेक्का सुरु भएको एक वर्षपछि १ असोज ०७८ मै ठेकेदारलाई एएमसीको रकम भुक्तानी दिएको थियो । 

साबिकमा कागजी रूपमा सञ्चालन हुँदै आएका गतिविधिलाई डिजिटलाइज्ड गर्ने भन्दै निगमले इआरपीअन्तर्गत सफ्टवेयर खरिदको प्रक्रिया अघि बढाएको थियो । तर, ठेक्काको प्रक्रियामा मिलेमतो र गडबडी देखिएको छ । ठेक्का प्रक्रियाबमोजिम निगमले आह्वान गरेको बोलपत्रको स्पेसिफिकेसनमा ठेकेदारको योग्यताअन्तर्गत निगमको इन्धन आपूर्तिकर्ताले प्रयोग गरेकै सफ्टवेयर प्रयोग गर्ने भनेर प्रतिस्पर्धा सीमित गरिएको थियो । 

सुझावित समाचार