प्रेरक प्रसंग : प्रधानाध्यापक र गान्धी

बिहिबार, २० असार, २०८१
डिजिटल संस्करण

यो कुरा तिनताकाको हो, जति वेला मोहनदास करमचन्द गान्धी कक्षा सातमा पढ्थे । विद्यालयका प्रधानाध्यापक दोरबजी एदुलजी गिमी थिए । उनी निकै अनुशासित व्यक्ति थिए र उनले उपल्लो कक्षाका विद्यार्थीलाई व्यायाम र खेल अनिवार्य गराएका थिए ।

गान्धीलाई व्यायाम र खेलमा कुनै रुचि थिएन । त्यसैले उनी कुनै पनि खेलमा भाग लिँदैनथे । खेल नखेली गान्धी विद्यालयबाट सोझै घर पुग्थे र आफ्नो पिताको स्याहारसुसार गर्थे । विद्यालयमा पढाइ सकेपछि खेल खेल्नतिर अल्झिँदा उनी समयमै पिताको स्याहार गर्नका लागि समयमै घर पुग्न सक्दैनथे ।

त्यसैले गर्दा उनले एक दिन आफ्ना अध्यापकसँग खेल खेल्न नपरोस् भनेर सधैँका लागि बिदा मागे । तर, अध्यापकले उनको बिदा स्वीकृत गरेनन् । एउटा शनिबार सबैलाई साँझ ४ बजे खेल खेल्न बोलाइएको थियो । गान्धीसँग घडी थिएन, त्यसैले घाम हेरेर समयको अनुमान गर्नुपर्ने थियो । उनले वास्तविक समयको अनुमान गर्न सकेनन् । उनी विद्यालय पुग्दा सबै विद्यार्थी खेल सकेर हिँडिसकेका थिए ।

अर्को दिन प्रधानाध्यापकले गान्धीलाई खेलमा गयल हुनुको कारण सोधे । गान्धीले अनुपस्थित हुनुको कारण त भने, तर प्रधानाध्यापकले पत्याएनन् र उनलाई त्यसबापत जरिवाना गरिदिए । यसले गान्धीलाई निकै पीडा दियो ।

पछि गान्धीका बुबाले विद्यालयलाई पत्र लेखेपछि मात्र उनको जरिवाना माफ गरियो । त्यसपछि गान्धीले के महसुस गरे भने साँचो कुरा बोल्नु मात्र ठूलो कुरा होइन रहेछ, समयको पाबन्द पनि हुनुपर्ने रहेछ । त्यसपछि कहिल्यै पनि गान्धीले समयको महŒवलाई अवमूल्यन गरेनन् ।
 

सुझावित समाचार