गड्डाचौकीको सीमावर्ती सडक कालोपत्रे भएसँगै यात्रुलाई सहज

बुधबार, २० असार, २०८१
डिजिटल संस्करण
गड्डाचौकीको सीमावर्ती सडक कालोपत्रे भएसँगै यात्रुलाई सहज

कञ्चनपुरको भीमदत्त नगरपालिका ११ गड्डाचौकी सीमावर्ती क्षेत्रमा निर्माण भएको सडक

कञ्चनपुरको पश्चिम नाका गड्डाचौकीस्थित सीमावर्ती सडक कालोपत्रे गरिएको छ । भीमदत्त नगरपालिका– ११ गड्डाचौकीमा सीमावर्ती सडक कालोपत्रे गरिएको हो । ७ नम्बर सीमा पिल्लरदेखि पूर्वतिर नेपालतर्फ कालोपत्रे सडक निर्माण गरिएको भीमदत्त नगरपालिका– ११ का वडाध्यक्ष प्रकाश थापाले बताए । वडाध्यक्ष थापाले भीनपा– ११ कै मागअनुरूप सुदूरपश्चिम प्रदेश सरकारले सडक निर्माणका लागि बजेट दिएको बताए । 

भारतीय पक्षले पश्चिमदेखि पूर्वतिर ७ नम्बर सीमा पिल्लरसम्मै यसअघि कालोपत्रे गरिसकेको थियो । उनले भने, ‘अहिले हामी नेपाल पक्षले पनि सीमा पिल्लरदेखि पूर्व ६ लेन सडकसम्मै कालोपत्रे गरेका छौँ ।’ सीमा पिल्लरदेखि ६ लेन सडकसम्म झन्डै तीन सय मिटर सडक कालोपत्रे गरिएको वडाध्यक्ष थापाले बताए ।

भारतीय पक्षले आफ्नोतर्फ धमाधम सडक निर्माण गर्ने, तर नेपालतर्फ कालोपत्रे मात्रै नभई सामान्य सडक मर्मत गर्दासमेत अवरोध गर्दै आएको थियो । पूर्वाधार विकास कार्यालय कञ्चनपुरमार्फत चालू आर्थिक वर्षमा खगेन्द्र एन्ड सिंह बिल्डर प्रालिले २३ लाखमा उक्त तीन सय मिटर सडक कालोपत्रेको ठेक्का पाएको थियो । 

सडक कालोपत्रे भएसँगै नेपाल–भारत दुवै देशका यात्रुहरूलाई सहज भएको छ । यसअघि नेपालतर्फ कच्ची सडक हुँदा यात्रुले सास्ती खेप्नुपरेको थियो । सडक कालोपत्रेसँगै यात्रुहरूलाई सहज भएको छ । 

सुझावित समाचार