सय वर्षका लागि बनेको बन्चरेडाँडा साइट १५ वर्षमै भरिने चेतावनी

वर्गीकरण नभएका फोहोर ल्यान्डफिल साइटमा लैजान रोक्न सुझाव

बुधबार, २० असार, २०८१
डिजिटल संस्करण
सय वर्षका लागि बनेको बन्चरेडाँडा साइट १५ वर्षमै भरिने चेतावनी

ल्यान्डफिल साइटको अवस्था निरीक्षण गर्न मंगलबार बन्चरेडाँडा पुगेको काठमाडौं महानगरपालिकाको टोली ।

नवीन मानन्धर, प्रवक्ता, काठमाडौं महानगरपालिका : ल्यान्डफिल साइटमा पुर्याइने फोहोरको मात्रा धेरै भएपछि ल्यान्डफिल साइट उपयोगिताको अवधि घट्दै गएको छ । अहिलेकै मात्रामा फोहोर लैजाने हो भने यसको अवधि १५ वर्षमै सकिने अनुमान गर्न सकिन्छ । काठमाडौंले जस्तै अन्य स्थानीय तहले पनि वर्गीकरण गरेर स्रोतमा फोहोर घटाउने कामलाई अभियानका रूपमा सञ्चालन गर्नुपर्छ । 

वर्गीकरण नभएका फोहोर बन्चरेडाँडा ल्यान्डफिल साइट पुर्याउने क्रम तत्काल रोक्न महानगरको अनुगमन टोलीले सुझाव दिएको छ । बन्चरेडाँडामा फोहोर व्यवस्थापनको अवस्था अवलोकन गर्न मंगलबार नुवाकोट पुगेको काठमाडौं महानगरपालिकाको टोलीले यस्तो सुझाव दिएको हो । 

बर्खा सुरु भएसँगै ल्यान्डफिल साइट, साइटमा पुग्ने सडक तथा अन्य पूर्वाधार र सामाजिक पक्षको व्यवस्थापनका सम्भावित जोखिम अवलोकनका लागि टोली साइट गएको थियो । सम्भावित समस्या अनुमान गर्ने र समस्या सिर्जना हुन नदिने उपाय खोजीका लागि टोली गएको हो । ‘साइटमा पुर्याइने फोहोरको मात्रा धेरै भएपछि ल्यान्डफिल साइट उपयोगिताको अवधि घट्दै गएको छ । अहिलेको मात्रामा फोहोर लैजाने हो भने यसको अवधि १५ वर्षमै सकिने अनुमान गर्न सकिन्छ,’ अवलोकनपछि प्रवक्ता नवीन मानन्धरले भने, ‘महानगरपालिकाले वर्गीकरण गरेर स्रोतमा फोहोर घटाउने कामलाई अभियानका रूपमा सञ्चालन गरेको छ । यसलाई अरू पालिकाले पनि अनुसरण गर्नुपर्छ ।’ यो ल्यान्डफिल साइट सय वर्षसम्म फोहोर व्यवस्थापन गर्न सकिने उद्देश्यले निर्माण गरिएको थियो । जेठ ०७९ देखि काठमाडौं उपत्यकाको फोहोर बन्चरेडाँडामा ल्यान्डफिल साइटमा व्यवस्थापन गरिँदै आएको छ । यसअघि उपत्यकाको फोहोर सिसडोलमा व्यवस्थापन हुँदै आएको थियो । 

प्रवक्ता मानन्धर, वातावरण समितिका संयोजक बालकृष्ण महर्जन, सदस्यहरू भुवन लामा, वीरेन्द्र प्रजापती र वातावरण व्यवस्थापन विभागका प्रमुख रवीनमान श्रेष्ठसहितको टोली साइट गएको थियो । अध्ययनका क्रममा उनीहरूले साइट व्यवस्थापनमा काम गर्ने कर्मचारी, फोहोर ढुवानी गर्ने चालक र स्थानीयवासीसँग हालको अवस्थाबारे जानकारी लिएका थिए ।

साइटको आयु बढाउन फोहोर छुट्याउनुपर्ने
अवलोकन टोलीले साइटको आयु बढाउन वर्गीकरण गरिएको फोहोर मात्र ल्यान्डफिल साइट लैजानुपर्ने जनाएको छ । उनीहरूका अनुसार पुनः प्रयोग गर्न सकिने सामान पनि साइटमै पुगेको छ । कुहिएर मल हुने कच्चापदार्थ पनि लगिएको छ । उत्पादन भएकै ठाउँमा बेच्न मिल्ने सामानसमेत साइटमा थ्रुप्रिएको छ । यसलाई रोक्न सके मात्र पनि साइटको आयु बढाउन योगदान हुनेछ । ‘फोहोर व्यवस्थापन चक्रमा उत्पादकदेखि व्यवस्थापनसम्मका सबै जोडिनुपर्छ । हरेकले प्रत्येक चक्र पूरा गर्न सहयोग गर्नुपर्छ । होइन भने विगतका अभ्यासबाट सिकेको अनुभव पनि खेर जान्छ,’ वातावरण समितिका संयोजक महर्जनले भने ।

समितिका सदस्य तथा वडा नम्बर ६ का अध्यक्ष भुवन लामाले फोहोर उत्पादन, संकलन, ढुवानी, व्यवस्थापन र साइटको पूर्वाधार निर्माण गर्ने सबैले आ–आफ्ना ठाउँमा जिम्मेवारी लिनुपर्ने र केन्द्र सरकारले पूर्वाधार दायित्व तत्काल पूरा गर्नुपर्ने बताए । ‘व्यक्तिको आचरण परिवर्तनदेखि फोहोर व्यवस्थापनसँग सम्बन्धित विषयमा एकैपटक काम गर्नुपर्छ,’ समितिका सदस्य तथा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्र प्रजापतीले भने, ‘समस्या सबैलाई थाहा छ, पन्छेर आफू चोखो भएर बस्ने प्रवृत्ति छ ।’ बन्चरेडाँडा क्षेत्रमा जैविक मल प्रशोधन केन्द्र निर्माण गर्ने, साइटमा पुगेको फोहोरको पनि मात्रा घटाउने र यसलाई ग्यास उत्पादनजस्ता उद्योगको कच्चापदार्थका रूपमा रूपान्तरण गर्ने कामलाई महानगरपालिकाले प्राथमिकतामा राखेकोसमेत उनीहरूले बताए । यसैगरी, स्यानिटरी ल्यान्डफिल साइटको अवलोकनपछि टोलीले ठूलो थुम्का सामुदायिक वन क्षेत्रमा तेजपातका बिरुवा रोपेको छ । डिभिजन वन कार्यालय नुवाकोटका फरेस्टर मुकुन्द बास्कोटाका अनुसार जग्गा ३४.३७ हेक्टर (करिब ६५० रोपनी) क्षेत्रफलमा रहेको सामुदायिक वनमा दुई हजार आठ सय बिरुवा रोप्ने महानगरपालिकाको योजना छ । वातावरण व्यवस्थापन विभागका प्रमुख श्रेष्ठका अनुसार बफर जोनमा हरियाली कायम गरिनेछ । 

सुझावित समाचार