बैंकहरूले राष्ट्र बैंकबाट लिए साढे २९ खर्ब निक्षेप सुविधा

आइतबार, १७ असार, २०८१
डिजिटल संस्करण

गत फागुनदेखि कार्यान्वयनमा आएको एसडिएफमार्फत मात्रै झन्डै १८ खर्ब

बजारबाट कर्जाको माग कम भएपछि बैंकहरूले राष्ट्र बैंकबाट उच्च मात्रामा निक्षेप सुविधा (बैंकले राष्ट्र बैंकमा राख्ने निक्षेप) लिएका छन् । चालू आर्थिक वर्ष ०८०/८१ को १४ असारसम्म बैंकहरूले राष्ट्र बैंकमा ६ सय ११ पटक गरेर २९ खर्ब ४६ अर्ब ३० करोड निक्षेप राखेका छन् ।

निक्षेप संकलन र स्थायी निक्षेप सुविधा गरेर दुई उपकरणमार्फत बैंकहरूले राष्ट्र बैंकमा उक्त निक्षेप राखेका हुन् । स्थायी निक्षेप सुविधामा दुई र तीन दिनसम्म निक्षेप राख्न सकिन्छ । निक्षेप संकलन उपकरणमा भने ७, १४, २८ दिन वा तोकिएको अवधिसम्म निक्षेप राख्न सकिन्छ । तोकिएको अवधि सकिएपछि बैंकहरूले ब्याजसहित निक्षेप फिर्ता पाउनेछन् । 

सोहीअनुसार बैंकहरूले हालसम्म २७ खर्ब ९० अर्ब ३० करोड रुपैयाँ निक्षेप फिर्ता लगिसकेका छन् । अब राष्ट्र बैंकमा बैंकहरूको एक खर्ब ५६ अर्ब रुपैयाँ निक्षेप बाँकी छ । सम्झौताको अवधि सकिएपछि बैंकहरूले ब्याजसहित त्यो निक्षेप फिर्ता पाउनेछन् । यद्यपि, राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल गरेको अवस्थामा बैंकहरूले पनुः निक्षेप जम्मा गर्न सक्नेछन् । स्थायी निक्षेप सुविधाअन्तर्गत भने हरेक आइतबार, मंगलबार र बिहीबार बैंकहरूले राष्ट्र बैंकमा यस्तो निक्षेप राखेर ब्याज आम्दानी गर्न सक्नेछन् । बैंकहरूले यस अवधिमा स्थायी निक्षेप सुविधा (एसडिएफ)अन्तर्गत मात्रै १७ खर्ब ९६ अर्ब रुपैयाँ केन्द्रीय बैंकमा जम्मा गरेका छन् । पाँच सय ६२ पटक गरेर बैंकहरूले सोबराबरको रकम जम्मा गरेका हुन् । त्यसमा १७ खर्ब ३० अर्ब रुपैयाँ साँवा फिर्ता भइसकेको छ । अब राष्ट्र बैंकमा यसअन्तर्गत ६६ अर्ब रुपैयाँ मात्रै निक्षेप बाँकी छ । तोकिएको अवधि सकिएपछि त्यो रकम बैंकहरूले ब्याजसहित फिर्ता पाउनेछन् । 

राष्ट्र बैंकले १ फागुनबाट स्थानीय निक्षेप सुविधा कार्यान्वयनमा ल्याएको थियो । यसमा बैंकहरूले तोकिएको मापदण्ड र दिनमा विनाप्रतिस्पर्धा राष्ट्र बैंकमा निक्षेप राख्न सक्नेछन् । यसमा न्यूनतम १० करोड र त्योभन्दा बढी पाँच करोडले भाग जाने रकम निक्षेप राख्न सकिनेछ । यसमा राष्ट्र बैंकले ३ प्रतिशत ब्याज दिनेछ ।  

पहिला आइतबार र बुधबार बैंकहरूले राष्ट्र बैंकमा यसअन्तर्गत निक्षेप राख्न सक्ने व्यवस्था थियो । गत सोमबार राष्ट्र बैंकले उक्त व्यवस्था संशोधन गर्दै आइतबार, मंगलबार र बिहीबार यसअन्तर्गत निक्षेप जम्मा गर्न सक्ने व्यवस्था गरेको छ । आइतबार प्रदान गरिएको सुविधा मंगलबार, मंगलबार प्रदान गरिएको सुविधा बिहीबार र बिहीबार प्रदान गरिएको सुविधा आइतबार परिपक्व भई फिर्ता गरिने व्यवस्था गरिएको छ । तर, भुक्तानी गर्ने मितिमा बिदा हुने भए अघिल्लो दिन नै भुक्तानी गरिनेछ । बैंकहरूले प्रस्ताव गरेपछि राष्ट्र बैंकले यस्तो निक्षेप अस्वीकार गर्न पाउँदैन । 

यस्तै, समीक्षा अवधि निक्षेप संकलन उपकरणबाट राष्ट्र बैंकले नै बैंक तथा वित्तीय संस्थाबाट ११ खर्ब ५० अर्ब ३० करोड रुपैयाँ निक्षेप तानेको छ । केन्द्रीय बैंकले खुला प्रतिस्पर्धामा ४९ पटक प्रस्ताव आह्वान गरेर सोबराबरका निक्षेप बैंकहरू तानेको हो । बैंकहरूले ब्याजदरमा बोलकबोल गरेर सोबराबरको रकम केन्द्रीय बैंकमा जम्मा गरेका हुन् । त्यसमा १० खर्ब ६० अर्ब ३० करोड रुपैयाँ फिर्ता भइसकेको छ । अब केन्द्रीय बैंकमा यसअन्तर्गत ९० अर्ब रुपैयाँ निक्षेप बाँकी छ । सम्झौता अवधि सकिएपछि बैंकहरूले ब्याजसहित त्यो रकम फिर्ता पाउनेछन् ।

पछिल्लो समय देखिएको आर्थिक शिथिलताका कारण बैंकहरूमा कर्जाको माग बढ्न सकेको छैन, त्यस कारण बैंकहरूमा कर्जा लगाानीयोग्य रकम थुप्रिँदै गएको छ । त्यसले बैंकहरूको आम्दानीसमेत प्रभावित बनाएको छ । त्यो अवस्थामा निक्षेप संकलन र स्थायी निक्षेप सुविधाले बैंकहरूलाई सामान्य रूपमा भए पनि राहत प्रदान गरेको एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन् । अहिले पनि बैंकहरूमा ६ खर्ब ४७ अर्ब रुपैयाँभन्दा बढी कर्जा लगानीयोग्य रकम छ । 

हाल बैंकहरूमा ६२ खर्ब ७७ अर्ब रुपैयाँ निक्षेप छ । तर, कर्जा प्रवाह भने ५१ खर्ब ३५ अर्ब छ । त्योअनुसार अहिले बैंकहरूमा कर्जा निक्षेप अनुपात ७९.६८ प्रतिशत कायम भएको देखिन्छ । तर, बैंकहरूले यस्तो अनुपात ९० प्रतिशतसम्म पुग्ने गरी कर्जा प्रवाह गर्न सक्छन् । त्योअनुसार बैंकहरूले अझै निक्षेपको १०.३२ प्रतिशत रकम कर्जा प्रवाह गर्न सक्छन्, जुन रकम ६ खर्ब ४७ अर्ब रुपैयाँ हुन आउँछ । 

बैंकहरूले यो वर्ष राष्ट्र बैंकबाट एक अर्ब २० करोड रुपैयाँ मात्रै निक्षेप सुविधा ल्याएका छन् ।  त्यसवेला बैंकहरूमा तरलताको अभाव नै थियो । त्यसपछि तरलता बढ्दै गए पनि कर्जाको माग हुन सकेन् । त्यसपछि बैंकहरूले राष्ट्र बैंकका विभिन्न उपकरणमा त्यो लगानी गरेको देखिन्छ । गत आवमा बैंकहरूले राष्ट्र बैंकबाट एक खर्ब १५ अर्ब रूपैयाँबराबरको निक्षेप सुविधा लिएका थिए । तर, गत आवमा बैंकहरूमा तरलता अभाव थियो । ऋण र निक्षेपको ब्याज पनि उच्च थियो । त्यसवेला भने बैंकहरूले राष्ट्र बैंकबाट उच्च मात्रामा तरलता सुविधा (राष्ट्र बैंकबाट पैसा लिएर ऋण प्रवाह गर्ने) लिएका थिए । तथ्यांकअनुसार गत आवमा बैंकहरूले राष्ट्र बैंकबाट १८ सय ९२ पटक गरेर ३३ खर्ब आठ करोड रुपैयाँ तरलता सुविधा लिएका थिए । 

See More On

सुझावित समाचार