‘छाया सरकार’ गठनमा कांग्रेसको अलमल

आइतबार, १६ असार, २०८१
डिजिटल संस्करण

नेपालको संसदीय प्रणालीमा छाया सरकार संस्कृति बन्न सकेको छैन, कांग्रेस पनि अलमलमै

रातारात नाटकीय रूपमा सत्ता समीकरणमा आउने फेरबदलले ठूला राजनीतिक दलहरू आफ्नो भूमिकाकै विषयमा अलमल पर्ने गरेका छन् । संघीय संसद्को सबैभन्दा ठूलो दल कांग्रेस अहिले यस्तै अलमलमा छ । विपक्षी भूमिका सशक्त बनाउन कांग्रेसभित्र छाया सरकार गठनको आवाज छ, तर पार्टी सम्भावित राजनीतिक समीकरण हेरेर एजेन्डा बनाउन तयार भएको छैन । ०७९ को चुनावयता कांग्रेस सत्ता र प्रतिपक्षको भूमिकाका गइसकेको छ । 

तत्काल सरकारमा जाने सम्भावना नरहेको छाया सरकार गठन गर्नुपर्ने कांग्रेसका केही नेताहरूको मत छ । कांग्रेसले विगतमा पनि छाया सरकारमार्फत संसदीय भूमिका सशक्त बनाएको कांग्रेसको अभ्यास छ । यसले सरकारको निगरानी र जनसरोकारका विषयलाई जोड्न भूमिका खेल्ने कांग्रेसभित्र केही नेताको मत छ । संसदीय व्यवस्थामा छाया सरकारलाई ‘वाचडग’को रूपमा हेर्ने गरिन्छ । 

तर, प्रवक्ता डा. प्रकाशशरण महत तत्काल यो विषयमा पार्टीमा छलफल भने नभएको, तर कांग्रेसका लागि महत्वको विषय भएको बताउँछन् । ‘विगतमा अभ्यास गरेका थियौँ । सरकारमाथि निगरानी र खबरदारीका लागि यो महत्वपूर्ण छ । तर, पार्टीभित्र पर्याप्त छलफल हुन पाएको छैन । अब बस्ने केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुनेछ,’ उनले नयाँ पत्रिकासँग भने । 

कांग्रेस उपसभापति धनराज गुरुङले विगतको अभ्यासअनुसार यसपटक पनि सूक्ष्म निगरानी गर्ने गरी छाया सरकार बनाउनेबारे निर्णय हुने बताए । ‘विगतमा पनि छाया सरकार बनाएर सरकारलाई खबरदारी गर्ने चलन थियो । पार्टीमा छलफल छ । संसदीय दल कार्यसमितिको बैठकले यसबारे निर्णय लिन सक्छ,’ उनले भने । संसदीय दल कार्यसमितिको बैठकअघि केन्द्रीय समिति बैठक बसे त्यहाँ पनि यो एजेन्डा प्रवेश हुने गुरुङले बताए । 

कांग्रेस संसदीय दलको विधानको धारा १२ मा  प्रतिपक्ष भूमिका सशक्त बनाउने विषय छ । विधानको यही धाराको आधारमा छाँया सरकार बनाउन सक्ने नेताहरू बताँउछन् । यस धारामा प्रतिपक्षमा रहेको समयमा पार्टीको भूमिका सशक्त बनाउन आवश्यक निर्णय गर्ने अधिकार छ । ‘पार्टी प्रतिपक्षमा रहेको अवस्थामा पार्टीको मान्यताअनुरूप आवश्यक कार्य गर्ने र सोका लागि अन्य राजनीतिक दलहरूकोे समर्थन लिने कार्य गर्ने,’ विधानमा छ । 

यसैलाई आधार मानेर कांग्रेसले विगतमा पनि यस्तो अभ्यास गरेको छ । यसअघि ६ जेठ ०७६ मा कांग्रेसले २० सदस्यीय मन्त्रालयस्तरीय समन्वय समिति नाम दिएर छाया सरकार बनाएको थियो । तत्कालीन समयमा छाया सरकारमा उद्योग मन्त्रालय हेरेका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा विगतबाट सिकेर छाया सरकारमार्फत सरकारको कामलाई सूक्ष्म निगरानी गर्नुपर्ने बताउँछन् । 

‘विगतको अनुभवबाट सिकेर छाया सरकारमार्फत सरकारका कामकारबाहीको निगरानी गर्नु उपयुक्त हुन्छ । कांग्रेसले विधानको व्यवस्थाअनुसार संयन्त्र बनाउने र संसदीय भूमिकालाई प्रभावकारी बनाउने विषयमा निर्णयमा पुग्नेछ,’ उनले नयाँ पत्रिकासँग भने । 

सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले पनि छाया सरकार बनाउने विषयमा पार्टीमा छलफल भइनसकेको बताइन् । तर, यसबारे छिट्टै निर्णयमा पुग्ने बताइन् । छाया सरकार बनाउने अहिलेको मात्र प्रचलन होइन । आवश्यकता र प्रभावकारिताका आधारमा विगतमा पनि बनाइएको होे । यसबारे छिट्टै निर्णय गर्नेछौँ,’ उनले नयाँ पत्रिकासँग भनिन् । 

केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य प्रदीप पौडेलले रचनात्मक प्रतिपक्षको भूमिकाका लागि कांग्रेसले छाया सरकार बनाउने बताए । सरकारलाई निगरानी गर्ने गरी बन्ने विभागमा सक्रियता देखिनुपर्नेमा उनको जोड छ । ‘संसदीय अभ्यासमा छाया सरकारको भूमिका महत्वपूर्ण हुन्छ । हामी छाया सरकार बनाएर यो अभ्यास गर्नेछौँ । अब बन्ने संयन्त्रले सरकारका गल्तीमाथि सूक्ष्म निगरानी गर्नुपर्छ । प्रतिपक्षले निगरानी सक्रियता राख्नेलाई जिम्मेवारी दिनुपर्छ,’ पौडेलले नयाँ पत्रिकासँग भने, ‘गठन भएको छैन, तर बहस आवश्यक छ । 

केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य नागिना यादव प्रतिपक्षको भूमिका सशक्त बनाउन विषयविज्ञलाई जिम्मेवारी दिएर प्रस्तुत हुनुपर्ने आवश्यकता देख्छिन् । ‘पार्टीका सांसदहरूसँग छाया सरकार नै बनाउने भनेर छलफल त भएको छैन । तर, विषयविज्ञ नहुँदा विषयकेन्द्रित भएर संसद्मा प्रस्तुत हुन सकिएको छैन,’ उनले भनिन्, ‘सबै विषयमा सांसदले व्यक्तिगत तवरबाट विषय उठान गर्नुपरेको छ । विज्ञलाई जिम्मेवारी या सांसदलाई विज्ञबाट प्रशिक्षित गराउनुपर्छ भनेर अबको बैठकमा विषय उठ्छ ।’

कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले विगतमा कांग्रेसको छाया सरकारको भूमिकाबारे असन्तुष्टि पोखे । ‘विगतमा छाया सरकारले आशातीत उपलब्धि दिन सकेनन् । खालि प्रचारका लागि बने । अब यस्तो संयन्त्र बनाँउदा उद्देश्यअनुसार कार्यसम्पादन गर्ने गरी बनाउनुपर्छ । प्रतिपक्ष दलको भूमिका उपलब्धिमूलक हुनुपर्छ,’ महरले भने ।

अर्का केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले विगतमा औपचारिकताका लागि मात्र बनाउने प्रचलनले गर्दा संसदीय अभ्यासको उच्चतम अभ्यासको प्रयोग गर्नबाट कांग्रेस चुकेको तर्क गरे । सिवाकोटीले संसद्मा प्रतिपक्षको सशक्त भूमिका देखिने गरी विषयविज्ञ र रुचि हुनेलाई छाया सरकारमा जिम्मेवारी दिने र अवसरमा पनि प्राथमिकता दिने अभ्यास हुनुपर्ने बताए । 

प्रदेशमा पनि छाया सरकारको अभ्यास
पछिल्लो समय केन्द्रमा मात्र नभई प्रदेशमा पनि छाया सरकार गठनको अभ्यास अघि बढेको छ । ०७८ साउनमा गण्डकी प्रदेशमा प्रतिपक्षमा रहेको एमालेले कांग्रेसका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वमा रहेको माओवादी–कांग्रेस गठबन्धन सरकारको निगरानी राख्न छाया सरकार बनाएको थियो । प्रदेश सरकारमा रहेका ११ मन्त्रालयलाई आधार बनाएर नौ समूहमा संयोजक र सदस्य तोकेर निगरानी गरेको थियो । एमालेले संसदीय समूह नाम दिएर मन्त्रालयगत निगरानीका लागि जिम्मेवारी तोकेको थियो ।

राजनीतिक विश्लेषक कृष्ण खनालले नेपालमा विभिन्न समयमा बनेका छाया सरकारले प्रभावकारी रूपमा कार्यसम्पादन गर्न नसकेको सुनाए । मुलुकमा गणतन्त्र स्थापनापछि पनि छाया सरकारमार्फत संसदीय भूमिका बलियो बनाउने अभ्यास प्रभावकारी हुन नसकेको उनको विश्लेषण छ । ‘छाया सरकार बनाउने अभ्यास संसदीय प्रणालीको एउटा अभ्यास हो । बहुमत पुग्ने सरकारमा रहेर आफ्नो दृष्टिकोण लागू गर्छन् र बहुमत नपुग्ने प्रतिपक्षमा रहन्छन् । प्रतिपक्षका लागि छाया सरकार वैकल्पिक सरकार र दृष्टिको माध्यम हो,’ उनले भने, ‘तर, अस्थिरताले नेपालमा सत्तापक्ष र प्रतिपक्ष को हो भन्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा छाया सरकारको अर्थ छैन । कुनै पनि दल प्रतिपक्षमा रहन तयार छैनन् । यसले छोटो समयमा समीकरण बदलिने अवस्था निम्तिने गरेको छ । नेपालको सन्दर्भमा छाया सरकार संसदीय संस्कृति नै बन्न सकेन । बनेकाको पनि उद्देश्य पूरा भएका छैनन् । 

छाया सरकार संसदीय संस्कृति नै बन्न सकेन : कृष्ण खनाल, राजनीतिक विश्लेषक
अस्थिरताले नेपालमा सत्तापक्ष र प्रतिपक्ष को हो भन्ने अवस्था देखिन्छ । यस्तो अवस्थामा छाया सरकारको अर्थ छैन । छोटो समयमा समीकरण बदलिने अवस्था निम्तिने गरेको छ । नेपालको सन्दर्भमा छाया सरकार संसदीय संस्कृति नै बन्न सकेन । 

सरकारमाथि निगरानी र खबरदारी गर्न छाया सरकार आवश्यक छ : डा. प्रकाशशरण महत, प्रवक्ता, कांग्रेस
विगतमा अभ्यास गरेका थियौँ । सरकारमाथि निगरानी र खबरदारीका लागि यो आवश्यक छ । तर, पार्टीभित्र पर्याप्त छलफल हुन पाएको छैन । अब बस्ने केन्द्रीय समिति बैठकमा यसबारे छलफल हुनेछ ।

सुझावित समाचार