अविरल वर्षासँगैको बाढीपहिरोले गुल्मी, स्याङ्जा र बागलुङमा नौजनाको मृत्यु भएको छ । गुल्मीमा एकाघरका पाँच, स्याङ्मा आमाछोरी र बागलुङमा दम्पतीको मृत्यु भएको हो ।
शुक्रबार रातिको अविरल वर्षासहितको पहिरोले मालिका गाउँपालिका– ६ अर्जेका ५५ वर्षीय भेषबहादुर विकसहितका पाँचजनाले ज्यान गुमाए । अविरल वर्षाकै बीच दिनभरको थकानका कारण मस्त निद्रामा थियो विक परिवार । भारी वर्षाका कारण खसेको पहिरोले कसैलाई पनि ब्युँतिन दिएन । रातिदेखि पहिरोमा बेपत्ता भेषबहादुरसहित श्रीमती ४८ वर्षीया सुन्तली विक, बुहारी २६ वर्षीया सीता विक, नातिनी आठ वर्षीया सपना र आठ महिनाकी विपना विकको शव स्थानीय र सुरक्षाकर्मीले निकाले । पोस्टमार्टमका लागि सबैको शव गुल्मी अस्पताल तम्घासमा राखिएको छ । आमाबाबुको काजकिरियाका लागि परदेशमा रहेका तीन छोरा घर फर्किँदै छन् ।
१६ साउन ०७७ मा घरमाथिबाट ठूलो ढुंगासहितको पहिरो खसेपछि रुरु क्षेत्र गाउँपालिका– ५ बम्घाका ३३ वर्षीय राजु माझीले श्रीमती ३० वर्षीया विना, १० वर्षका छोरा सागर, सात वर्षका हेमन्त र १० महिनाकी छोरी विनिता गुमाए । राजु परदेश भएकाले बाँचे, अरू कोही रहेनन् । कोभिडको विषम परिस्थितिमा राजुले परिवार गुमाएको पीडामाथि क्वारेन्टाइनकै बीचमा अन्तिम संस्कार गरे ।
६ साउन ०७६ मा सत्यवती गाउँपालिका– ४ मा माथिबाट आएको पहिरोले घर पुरेपछि छलि विकसहित एकै परिवारका नौजनाले ज्यान गुमाए । सत्यवती गाउँपालिका–३ ठूलो लुम्पेकका तिलकुमारी तरामु र छोरा दर्शन तरामुले ज्यान गुमाए । ०७७ असारमा इस्मामा पहिरोले दुईजनाले ज्यान गुमाएका थिए ।
५ असार ०७१ मा तत्कालीन अग्लुङ गाविस– ८ निपानेमा घरमाथिबाट पहिरो खसेपछि ६३ वर्षीय भविलाल कुँवरसहित एकै परिवारका नौजनाले ज्यान गुमाएका थिए । एक दशकयताको तथ्यांकका आधारमा मदाने, सत्यवती, रुरुक्षेत्र, मुसिकोट, इस्मा र मालिकामा गरेर ३२ जनाले ज्यान गुमाएका छन् । सयौँ परिवार विस्थापित भएका छन् ।
हिउँदमा आगो, बर्खामा बाढीपहिरोको कहर
हिउँदमा आगो र बर्खामा बाढीपहिरोबाट पीडित बन्ने नियत नै बनेको छ । भर्खरैको हिउँदमा आगोको वितन्डा गुल्मीले खेपेको छ । जसकारण ७२ घरपरिवार घरबारविहीन बने । मनसुन सुरु हुनेबित्तिकै मानवीय तथा भौतिक क्षति सुरु भएको छ । यस वर्ष धेरै वर्षात् हुने भएकाले बाढीपहिरोबाट मानवीय तथा भौतिक क्षति बढी नै हुने अनुमान गरिएको छ । गुल्मी बाढीपहिरोको दृष्टिकोणले जोखिमपूर्ण जिल्ला हो ।
जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना ०८१ अनुसार गुल्मीका ४० स्थान बाढी र एक सय २४ स्थान पहिरोको जोखिममा छन् । मुसिकोट नगरपालिकाका १० स्थान बाढी र १६ स्थान पहिरोको जोखिममा छन् । छत्रकोट गाउँपालिकाका १४ स्थान बाढी र २५ स्थान पहिरो, इस्माका सात स्थान बाढी र १० स्थान पहिरो, चन्द्रकोटका पाँच स्थान बाढी र १० स्थान पहिरो तथा मदानेका ३० स्थान पहिरोको जोखिममा छन् ।
मालिकाका नौ स्थान बाढीको जोखिममा छन् । सबै वडा पहिरोको जोखिममा छन् । तीमध्ये पनि १८ स्थानलाई विशेष क्षेत्रको रूपमा राखिएको छ । हरेक स्थानीय तहका थुप्रै स्थान बाढी र पहिरोको जोखिममा छन् । जनप्रतिनिधिका नयाँ नीति कार्यक्रममा पहिरो प्रभावितको पुनस्र्थापना वा जोखिम न्यूनीकरणको विषयमा ठोस योजना समावेश छैनन् ।
घर पुरिँदा दम्पतीको मृत्यु, बुहारी र नाति घाइते
बागलुङमा पहिरोले घर पुरिँदा दुईजनाको मृत्यु भएको छ । गलकोट नगरपालिका–८ काँडेबाँसका बिसौनीका ५५ वर्षीय प्रेम विक र उनकी श्रीमती ५० वर्षीया वसन्ती विकको मृत्यु भएको हो । घटनामा दुईजना घाइते भएका छन् । पहिरोले घर पुरिँदा प्रेमकी बुहारी कुमारी र नाति शिशिर घाइते भएका जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक विजय यादवले जानकारी दिए । शनिबार बिहान ३ बजे पहिरो गएको गलकोट नगरपालिका–८ का वडासदस्य लोकनाथ कँडेलले बताए ।
बायो इन्जिनियरिङ प्रविधिमार्फत पहिरो र भूक्षयको प्रयास
सल्यानमा बायो इन्जिनियरिङ प्रविधिमार्फत पहिरो तथा भूक्षय नियन्त्रणको प्रयास थालिएको छ । छत्रेश्वरी गाउँपालिकामा प्रकोप जोखिम व्यवस्थापन, जलवायु अनुकूलन तथा मुहान र जैविक विविधता संरक्षणका लागि बायो इन्जिनियरिङ प्रविधिको सुरुवात भएको हो । छत्रेश्वरी– ५ स्थित महेन्द्र माध्यमिक विद्यालयमा भूक्षय र पहिरोको जोखिम व्यवस्थापनका लागि बायो इन्जिनियरिङ गरिएको गाउँपालिकाका वास संयोजक निमराज केसीले जानकारी दिए । यस प्रविधिमार्फत पानीको मुहान संरक्षण, विपत्को जोखिम व्यवस्थापन र जैविक विविधता संरक्षण गर्न सकिने उनको भनाइ छ । बायो इन्जिनियरिङमार्फत ढुंगा, माटो खसिरहेका क्षेत्रमा रोकथाम र जोखिम व्यवस्थापनका कार्य गरिन्छ । विद्यालय क्षेत्रको जोखिम क्षेत्रमा भूक्षय नियन्त्रणका लागि स्थानीयस्तरमा पाइने बाँसलगायतका सामग्री प्रयोग गरेर पाली सेट निर्माण गरेर बायो इन्जिनियरिङ गरिएको छ । बायो इन्जिनियरिङअन्तर्गत कास, अम्रिसो, घाँसे प्रजातिसँगै सिमली, असुरो, बाँस, सजीवनजस्ता बिरुवा रोप्ने गरेमा यसले एकतर्फ पहिरो खस्नबाट जोगाउँछ भने अर्काेतर्फ पानीको मुहान सुक्नबाट समेत जोगाउने प्राविधिकहरू बताउँछन् ।
पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु
अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले पुर्दा स्याङ्जामा आमाछोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्याङ्जा फेदीखोला गाउँपालिका– ५ बाँगे बस्ने वर्ष ३१ की दुर्गा जिटी र उनकी छोरी तीन वर्षकी निसिका जिटी रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायब उपरीक्षक इनद्रबहादुर रानाले जानकारी दिए ।
शनिबार बिहान अन्दाजी २:३० बजे ढुंगा माटो र टिनले छाएको एकतले घरभन्दा करिब २०–२५ मिटरमाथिबाट आएको पहिरोले जिटीको घरगोठ पूर्ण रूपमा पुरिएको थियो । गोठमा रहेका एक भैँसीसमेत पहिरोमा पुरिएर मरेको प्रहरीले जनाएको छ । पहिरोले घर पुरेको सूचना पाएसँगै पुगेका स्थानीय र प्रहरीको सहयोगमा आमाछोरीलाई पुरिएको अवस्थामा मृत फेला पारिएको थियो । घरमा आमासँगै एक छोरी र छोरा बस्दै आएकोमा शुक्रबार राति आठ वर्षका छोरा निर्देश जिटीनजिकै आफन्तको घरमा सुत्न गएकाले उनी सकुशल छन् । मृतक जिटीका श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा छन् ।
विपतका आश्रयस्थल बन्दै विद्यालय
बाढी र पहिरोबाट विस्थापितलाई लामो समय राख्ने स्थानीयस्तरमा संरचना छैनन् । ०७६ मा पहिरोले विस्थापित सत्यवतीका करिब तीन सय परिवार लामो समय विद्यालयमा बसे । विस्थापित परिवार राख्ने उपयुक्त स्थान नहुँदा विद्यार्थीहरूको पठनपाठन प्रभावित बन्यो । ०७७ को पहिरोमा इस्माका अधिकांश प्रभावित विद्यालयमा राख्नुको विकल्प भएन । अहिले आगलागीबाट विस्थापित परिवारका लागि पनि थुपै्र विद्यालय सेल्टर बने । विपत्को पूर्वतयारीभन्दा विपत्पछि जुध्न पनि स्थानीय सरकार सक्षम छैनन् । स्थानीय सरकारसँग विपत्का लागि पर्याप्त स्रोत र साधन तथा उपयुक्त सोच छैन । एकपटक ठूलो मानवीय तथा भौतिक क्षति खेपेको सत्यवती गाउँपालिकाले पनि विपत् पूर्वतयारीका विषयमा उल्लेख्य योजना बनाउन सकेको छैन । जिल्ला विपत् पूर्वतयारी तथा प्रतिकार्य योजना ०८१ को प्रतिवेदनअनुसार १२ स्थानीय सरकारका ९० प्रतिशत विपत् आश्रयस्थल विद्यालय भनेर उल्लेख गरिएको छ ।