किन रोकियो काठमाडौं महानगरको नगरसभा ?

शुक्रबार, १४ असार, २०८१
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाकाे नगरसभा रोकिएको छ। शुक्रबार बिहान ८ बजे बोलाइएको नगर सभामा बैठकको अध्यक्षता गर्ने महानगर प्रमुख बालेन्द्र साह (बालेन) अनुपस्थित हुँदा  नगर सभा रोकिएको बताइएकाे छ।

बिहान ८ बजे बैठक बोलाइए पनि प्रमुख बालेन साढे ११ बजेसम्म पनि बैठकमा उपस्थित नभएपछि बैठक रोकिएको महानगरका प्रवक्ता नवीन मानन्धरले बताए।

‘हामी तोकिएको समय ८ बजे नै पुगेका हौँ । तर, उहाँ साढे ११ बजेसम्म पनि आउनुभएन। बैठक बस्ने–नबस्नेबारे कुनै जानकारी पनि गराउनुभएन,’ प्रवक्ता मानन्धरले भने, ‘हामी तयारी गरेरै गएका थियौँ। उहाँ नै बैठकमा नआउनुभएकाले बैठक बस्न सकेन । उहाँ नै अनुपस्थित हुनुभएकाले तयारी पुगेन भन्नुपर्ला।’

शुक्रबारको नगरसभामा असार १० गते कार्यपालिका सदस्यहरूले नीति तथा कार्यक्रममा हालेको २८ बुँदे संशोधनमाथि छलफल हुने कार्यक्रम थियो।

वडाध्यक्षले बैठक रोके : प्रमुख साह
महानगरका प्रवक्ता तथा वडा १७ का अध्यक्ष मानन्धरले मेयर अनुपस्थित भएका कारण बैठक बस्न नसकेको भनिरहँदा मेयर बालेनले भने नेपाली कांग्रेस र नेकपा एमालेका वडाध्यक्षहरूले बैठक रोकेको आरोप लगाएका छन्।

‘एमाले र कांग्रेसले बिपी कोइराला, मदन भण्डारीको नाममा करोडौँको कार्यक्रम गरौँ भन्नुभयो । मैले चार स्वतन्त्र सेनानी सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द, गंगालाल श्रेष्ठको नाममा गरौँ भनेँ,’ सामाजिक सञ्जालमा प्रमुख बालेनले भनेका छन्, ‘सायद कांग्रेस र एमालेलाई नेपालको क्रान्तिमा उहाँहरूभन्दा कांग्रेस र एमालेको नेताहरूको योगदान धेरै देख्नुभयो होला । त्यसपछि आज बस्ने नगरसभा बैठक रोकेर जानुभयो।’

सुझावित समाचार