पेरूको मध्यतटीय क्षेत्रमा शुक्रबार ७.२ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भे (युएसजिएस)ले जनाएको छ।
युएसजिएसका अनुसार अतिकिपा जिल्लाबाट ८.८ किलोमिटरको दूरी (१५.९० डिग्री अक्षांश र ७४.३५ डिग्री देशान्तर)मा ३० किलोमिटरको गहिराइमा भूकम्पको केन्द्रविन्दु रहेको छ।
‘प्यासिफिक सुनामी वार्निङ सेन्टर’ले भूकम्पपछि तत्काल दिएको सूचनामा सुनामीको कुनै खतरा नरहेको बताए पनि आफ्नो पूर्वसूचनामा संशोधन गर्दै पछि ‘केही तटमा तीन मिटरसम्मको छाल आउन सक्ने’ चेतावनी दिएको छ।
भूकम्पबाट भौतिक संरचनामा भएको क्षतिको विवरण तत्काल उपलब्ध नभएको, तर भूकम्पको ठूलो धक्का महसुस गरिएकाले केन्द्रविन्दु आसपासका क्षेत्रमा मानवीय तथा भौतिक संरचनामा क्षति पुगेको हुन सक्ने अनुमान गरिएको छ।
भूकम्प प्रभावित क्षेत्रको थप विवरण संकलन भइरहेको पेरूका सरकारी अधिकारीहरूले जनाएका छन्। रासस