पाँच खेलाडीका साथमा १७ पदाधिकारीले टोकियो ओलम्पिकमा भाग लिएका थिए । यसपटक निश्चित खेलका पदाधिकारी मात्र सहभागी गराउन खेलकुद मन्त्री श्रेष्ठको एनओसीलाई निर्देशन
युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आसन्न पेरिस ओलम्पिक– २०२४ मा मापदण्डअनुरूप पदाधिकारी पठाउन निर्देशन दिएका छन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी)सँग नेपाली खेलाडीको तयारीबारे जानकारी लिँदै मन्त्री श्रेष्ठले खेलाडीबाहेक अन्य पदाधिकारी मापदण्डअनुसार मात्र पठाउन निर्देशन दिएका हुन् । ‘पेरिस ओलम्पिकमा अनावश्यक व्यक्ति नजाओस् र पदाधिकारी पनि मापदण्डअनुसारै हुनुपर्छ,’ मन्त्री श्रेष्ठले भने । पेरिस ओलम्पिक २६ जुलाईदेखि ११ अगस्टसम्म हुँदै छ ।
मन्त्री श्रेष्ठले पेरिस ओलम्पिकमा नेपालबाट सहभागी हुने संख्या एक साताभित्र मन्त्रालयमा पठाउन एनओसीलाई निर्देशनसमेत दिएका छन् । एनओसीले नेपाली टोलीको विवरण राखेपमार्फत मन्त्रालयमा बुझाउनुपर्नेछ । ‘एनओसीले नेपालबाट सहभागी हुने नेपाली टोलीको संख्या जिम्मेवारीसहित राखेपमार्फत मन्त्रालयमा पेस गर्नुपर्नेछ,’ श्रेष्ठले भने, ‘विगतमा भएका कमीकमजोरी र बेथितिलाई नदोहोर्याउन र राष्ट्रको गरिमामा आँच नआउने गरी नेपालको सहभागी हुनुपर्छ ।’
सन् २०२१ मा जापानको टोकियोमा भएको ओलम्पिक खेलकुदमा नेपालबाट पाँच खेलाडीले सहभागिता जनाएका थिए । टोकियो ओलम्पिकमा सुटिङमा कल्पना परियार, जुडोमा सोनिया भट्ट, एथलेटिक्सबाट सरस्वती चौधरी तथा पौडीमा गौरिका सिंह र एलेक्स साहले प्रतिस्पर्धा गरेका थिए । पाँच खेलका लागि प्रशिक्षक टोकियोमा पुगेका थिए । नेपाली टोलीमा १७ जना पदाधिकारी थिए ।
तीन खेलाडी विदेशमा व्यक्तिगत प्रशिक्षण गर्दै
पेरिस पेरिस ओलम्पिकमा नेपालबाट सात खेलाडीले भाग लिने निश्चित भइसकेको छ । जसमध्ये तीन खेलाडी विदेशमा व्यक्तिगत प्रशिक्षण गरिरहेका छन् । टेबुलटेनिसका स्यान्टु श्रेष्ठले अस्ट्रेलियामा, पौडीका डुवाना लामाले थाइल्यान्डमा र एलेक्जेन्डर शाहले अमेरिकामा व्यक्तिगत रूपमा प्रशिक्षण गरिरहेका छन् । टेबुलटेनिसका स्यान्टुले काठमाडौंमै भएको छनोट प्रतियोगिता पार गरी पेरिस ओलम्पिकमा स्थान बनाएका हुन् । टेबुलटेनिस इतिहासमा उनी छनोट चरण पार गरी ओलम्पिक खेल्ने पहिलो खेलाडी हुन् । तेक्वान्दोका संगिना वैद्य र दीपक विष्टपछि छनोट चरणबाट ओलम्पिकमा स्थान पक्का गर्ने स्यान्टु तेस्रा नेपाली खेलाडी हुन् ।
ब्याडमिन्टनका प्रिन्स दाहाल राष्ट्रिय खेलकुद परिषद्मार्फत वैदेशिक प्रशिक्षणका लागि श्रीलंकामा छन् । राखेपका सदस्यसचिव टंकलाल घिसिङले खेलाडीहरूको प्रशिक्षण विदेशमा भइरहेको जानकारी मन्त्रीलाई दिएका छन् । ‘ओलम्पिकमा नेपालबाट सहभागी हुने विभिन्न खेलका खेलाडी व्यक्तिगत रूपमा विदेशमै प्रशिक्षण गरिरहेका छन्,’ घिसिङले भने, ‘प्रिन्स राखेपले व्यवस्था गरेको वैदेशिक प्रशिक्षणमा छन् ।’
प्रक्रियामा एक्रिडिटेसन कार्ड
खेलाडीसँगै सम्बन्धित खेलका प्रशिक्षकको एक्रिडिटेसन कार्डको प्रक्रिया अगाडि बढिरहेको सदस्यसचिव घिसिङले बताए । उनका अनुसार एनओसीले सम्बन्धित संघबाट उपलब्ध गराएका प्रशिक्षकको एक्रिडिटेसनका लागि प्रक्रिया अगाडि बढाएको छ । तर, ब्याडमिन्टन संघले अहिलेसम्म प्रशिक्षकको नाम पठाएको छैन । समयमै प्रशिक्षकको नाम सिफारिस नगर्दा ब्याडमिन्टनका दाहालले प्रशिक्षकविना ओलम्पिक खेल्ने सम्भावना उच्च रहेको छ । एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र सुटिङकी सुस्मिता नेपालले गत महिना वाइल्ड कार्ड प्राप्त गरेका थिए । जुडोकी मनिता श्रेष्ठ प्रधानले बिहीबार वाइल्ड कार्ड पाइन् । नेपालको जुडो इतिहासमा ओलम्पिक खेल्ने उनी सातौँ खेलाडी हुन् ।
उनी राखेपले उपलब्ध गराएको दैनिक दुई हजार खर्चमा प्रशिक्षण गरिरहेकी छिन् । ‘मनिताले असारदेखि दैनिक दुई हजारका दरले प्रशिक्षण खर्च गरिरहेकी छिन्,’ घिसिङले भने । उनले ओलम्पिक तयारी र राष्ट्रिय संघको मागअनुसार छनोट प्रतियोगिता खेल्न ५० लाख खर्च भएको जानकारी मन्त्रीलाई दिए । यसैबीच, समर र पारा ओलम्पिकका लागि ९० लाख बजेट विनियोजन भएको उनले बताए । पेरिस ओलम्पिकको सहभागिताका लागि खरिद प्रक्रिया अगाडि बढाइसकेको पनि जानकारी उनले दिए ।