‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ सम्पन्न

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण

मैथिली भाषामा निर्माण गरिएका फिल्महरूलाई लक्षित गर्दै पहिलोपटक जनकपुरधाममा दुईदिने ‘मैथिली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ आयोजना गरिएको छ।

असार ११ र १२ गते जनकपुरस्थित गिरिजा हलमा चलेको महोत्सवलाई जनकपुरधाम उपमहानगरपालिका तथा लोकसञ्चार जनकपुरधामद्वारा संयुक्त रूपमा आयोजना गरिएको हो।

मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्सवको उद्घाटन गर्दै मैथिली भाषा, साहित्य तथा संस्कृतिको विकासमा टेवा पुर्याउने धारणा राखेका थिए।

महोत्सवमा प्रवर्द्धकको रूपमा नेपाल पर्यटन बोर्ड (काठमाडौं), चलचित्र विकास बोर्ड (काठमाडौं) जोडिएको कार्यक्रममा सहभागी अभिनेता तथा निर्देशक नीर शाहले विविधताबीचको एकतालाई मजबुत बनाउनुका साथै राष्ट्रिय एकतालाई बलियो बनाउन अन्तरसंस्कृतिका विषय फिल्ममा आउनुपर्ने बताए।

महोत्सवका निर्देशक रमेश ञ्जन झाले फेस्टिभलका कारण मिथिलाञ्चल क्षेत्रसँगै मैथिली भाषामा काम गरिरहेका प्रसिद्ध कलाकार, लेखक, गायक तथा निर्देशकका लागि एउटा प्लेटफर्मको निर्माण भएको बताए।

महोत्सवमा वृत्तचित्रतर्फ ‘गुमकी’ र ‘विदापत’ तथा लघुफिल्मतर्फ ‘अफवाह’ र ‘रक्त तिलक’, फिचर फिल्मतर्फ ‘ललका पागु’, ‘लोटस ब्लुम्सु’ ‘समानान्तर’ प्रदर्शन गरिएको थियो।

यस्तै, महोत्सवमा ‘मैथिली सिनेमाक निर्माण आ व्यवसाय’, ‘निर्देशक सँ विमर्श’, ‘समकालीन परिदृश्य मे मैथिली सिनेमा’, ‘मैथिली सिनेमाक विविध स्वरूप आ सम्भावना’ शीर्षकमा अन्तर्क्रिया गरिएको निर्देशक र महोत्सवका संयोजक पूर्णेन्दु के झाले जानकारी दिए। महोत्सवलाई नेपोभिट टायल्सले सघाएको थियो।
 

सुझावित समाचार