२० करोड लगानीमा सञ्चालनमा आयो पोखरा इभेन्ट सेन्टर

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण

ठूला–ठूला कार्यक्रमका लागि सभाहल नहुँदा समस्या भोगिरहेको पोखरा र छिमेकी जिल्लाहरूको समस्या पूर्ति गर्ने गरी पर्यटकीय नगरी पोखरामा स्टार लेबलको सुविधासहितको ‘पोखरा इभेन्ट सेन्टर’ सञ्चालनमा आएको छ ।

पोखरा महानगरपालिका– ६ बुलौदीस्थित सञ्चालनमा आएको सेन्टरमा १७ जना, ५० जना, ७० जना, दुई सयजना, पाँच सयजना, आठ सयजना, एक हजार दुई सयजनादेखि दुई हजारजनासम्म अट्ने क्षमताका गरी आठवटा अन्तर्राष्ट्रियस्तरका सुविधाहरू रहेका छन् ।

युवा व्यवसायी शिवराज आचार्य, व्यवसायी टीकादेवी अर्याल, अटो व्यवसायी राजेन्द्रकुमार बाटाजू, डा. रामचन्द्र पोखरेल र चार्टर्ड एकाउटेन्ट लक्ष्मण अधिकारी गरी पाँचजनाको संयुक्त लगानीमा सेन्टर सञ्चालनमा आएको हो ।

ठूला हलको अभावमा पोखरामा केही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्यक्रम हुन नसकिरहेको अवस्थामा सेन्टर सञ्चालनमा आएसँगै अब त्यस्तो समस्या नरहने सञ्चालकसमेत रहेका सेन्टरका प्रबन्ध निर्देशक आचार्यको भनाइ छ।

चार वर्षअघि निर्माण सुरु गरिएको सेन्टर कोरोनाका कारण काम रोकिँदा केही निर्माण अवधि लम्बिएको आचार्यको भनाइ छ । दुई वर्षमा सम्पन्न गर्ने गरी काम सुरु गरेकोमा कोरोनाका कारण चार वर्ष लागेको उनले बताए । सेन्टरमा साजसज्जाको केही कामबाहेक अन्य सवै पूर्वाधारको काम सकिएको छ । सेन्टर सञ्चालनमा ल्याउन हालसम्म २० करोड खर्च भइसकेको र बाँकी सम्पूर्ण काम सक्दा लागत २५ करोड पुग्नेछ ।

सेन्टरको एकपटकमा १० हजारजनासम्मलाई पार्टी सञ्चालन गर्न सक्ने क्षमता रहेको छ । सेन्टरले हाल २५ जनालाई नियमित रोजगारी दिएको छ । ठूला कार्यक्रम गर्दा एक–ढेड सयसम्म जनशक्ति आवश्यक पर्ने र त्यसका लागि होटेल म्यानेजमेन्ट अध्ययन हुने शिक्षण संस्थका विद्यार्थीसँगै होटेलहरूसँग समन्वय गरी व्यवस्थापन गर्ने गरिएको आचार्यले बताए ।

साना र मझौला कार्यक्रमसँगै विशेष गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलन, गोष्ठी, ठूला वैवाहिक कार्यक्रमका लागि सेन्टर उपयुक्त रहेको आचार्यको भनाइ छ । करिब ३२ रोपनी क्षेत्रफलमा सञ्चालनमा आएको सेन्टरमा चारपांग्रे साना तीन सय गाडी पार्किङ गर्न सक्ने क्षमता रहेको छ ।

सुझावित समाचार