छोरीसँगै पढ्ने बालिकालाई जबर्जस्ती यौनधन्दामा

प्रशस्त आम्दानी हुने प्रलोभन देखाएर बालिकालाई यौनधन्दामा लगाउने दुई महिला पक्राउ

बिहिबार, १४ असार, २०८१
डिजिटल संस्करण

चितवन वीरेन्द्रनगरकी ४३ वर्षीया पूजा मगर भनिने ओमकुमारी पुन बालिकालाई जबर्जस्ती यौनधन्दामा लगाएको आरोपमा पक्राउ परेकी छिन् । मानव बेचबिखन अनुसन्धान ब्युरोले पुनसँगै झापाकी ३४ वर्षीया पूजा लोवालाई पक्राउ गरेको छ ।

आफ्नी छोरीसँगै विद्यालयमा अध्यनयरत १६ वर्षीया बालिकालाई रोजगार दिने प्रलोभन दिएर पुनले वेश्यावृत्तिमा लगाएको पाइएको प्रहरीले जनाएको छ । प्रहरीका सुरुमा उनले बालिकालाई आफूसँगै कोठामा राखेको र जबर्जस्ती वेश्यावृत्तिमा लगाएर भएभरको आम्दानी असुलेर बालिकामाथि चरम आर्थिक शोषण गरेको खुलेको छ । पुन र लोवाविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा ब्युरोले मुद्दा चलाएको छ । 

ब्युरोका प्रवक्ता एसपी गौतम मिश्रले बालिकालाई जबर्जस्ती यौनधन्दामा लगाउने र आर्थिक शोषण गर्ने धन्दामा संलग्न दुई महिला पक्राउ परेको जानकारी दिए । ‘उनीहरूले बालिकालाई जबर्जस्ती यौनधन्दामा लगाएको देखियो । आर्थिक शोषण पनि गरेको देखियो । पक्राउ परेका उनीहरूविरुद्ध मानव बेचबिखन तथा ओसारपसार कसुरमा मुद्दा चलाइएको छ,’ उनले भने ।

प्रहरीका अनुसार पुन चाबहिल बस्छिन् । उनकी छोरी चाबहिलस्थित एक विद्यालयमा अध्ययनरत छिन् । पीडित बालिका पनि पुनकी छोरीसँगै सोही विद्यालयमा अध्ययन गर्थिन् । एउटै कक्षामा अध्ययन गर्ने हुँदा दुवैजना मिल्ने साथी थिए । यही क्रममा बालिकाले पुनकी छोरीसँग आफ्नो घरको समस्या बताइन् । बालिकाको समस्या छोरीले आफ्नी आमालाई सुनाइन् । पुनले बालिकालाई भेट्न कोठामा बोलाइन् । परिवारको आर्थिक अवस्था कमजोर रहेको र घरमा सधैँ झगडा हुने बुझेपछि पुनले बालिकालाई आफूसँगै बस्न भनिन् । पुनको प्रस्तावमा बालिका तुरुन्तै राजी भइन् । केही महिना पुनसँगै बसेकी उनी विद्यालय पनि गइन् । 

यसै क्रममा पुनले बालिकालाई ‘पढेर केही नहुने, बरु काम गरे आम्दानी हुने’ भनिन् । बालिका काम गर्न राजी पनि भइन् । सोही क्रममा पुनले बालिकालाई नवलपरासीस्थित रेस्टुरेन्टमा काम गर्न पठाइन् । प्रहरीका अनुसार रेस्टुरेन्टमा बालिकामाथि पहिलो दिनमै बलात्कार भयो । रेस्टुरेन्ट मालिकले बालिकालाई अन्य ग्राहकसँग पनि यौन सम्पर्क गर्न लगाए । आफूमाथि चरम शोषण भएपछि बालिकाले पुनसँग रेस्टुरेन्टमा काम नगर्ने जानकारी गराइन् । तर, उनले अझै त्यहीँ बस्न भनिन् । पुनले एक महिनापछि बालिकालाई काठमाडौं बोलाइन् । केही दिन आफूसँगै राखिन् । त्यसपछि चाबहिलस्थित पूजा लोवाले सञ्चालन गरेको फ्रेन्डसिप ब्युटी एन्ड स्पामा काममा लगाइन् । पूजाले पनि बालिकालाई स्पामा यौनधन्दामै लगाइन् । केही महिना काम गरेपछि बालिकाले त्यहाँ पनि काम गर्न इन्कार गरिन् । 

बालिकाले फ्रेन्डसिप ब्युटी एन्ड स्पा छाडेपछि पुनले उनलाई आफ्नै कोठामा राखिन् । केही दिनपछि सम्पर्कमा आएका ग्राहककहाँ पठाओमार्फत यौनसम्पर्क गर्न पठाइन् । बैंकमा पैसा राखिदिने प्रलोभन दिएर ग्राहकबाट भएको सबै आम्दानी पुनले आफैँ राखिन् । एक वर्षसम्म धन्दा चलिरह्यो । यही क्रममा बालिका आफ्नो केटा साथीसँग भक्तपुरस्थित रिसोर्टमा ‘डेट’मा गइन् । प्रहरीले रिसोर्टमा छापा हान्दा बालिका पक्राउ परिन् । बालिकासँगै पक्राउ परेका अन्य युवायुवतीको परिवारका सदस्य प्रहरी कार्यालय पुगे ।

पक्राउ परेकाहरूलाई बुझेर लिएर गए, तर बालिकाको कोही आएनन् । प्रहरीले बालिकासँग सोधपुछ ग¥यो । कोही नभएको बताएपछि प्रहरीले बालिकालाई सामाजिक संस्थाबाट सञ्चालित सेफ हाउस पठायो । जब सेफ हाउसका सामाजिक कार्यकर्ताले उनीसँग सोधपुछ गरे, बल्ल उनले आफ्नो पीडा बताइन् । ‘रिसोर्टबाट पक्राउ परेपछि बालिकालाई लिन कोही आएनन् । उनले आफ्नो कोही नभएको बताइन् । प्रहरीले सामाजिक संस्थाबाट सञ्चालित सेफ हाउस पठायो । बल्ल उनले त्यहाँ आफ्नो सारा पीडा विस्तारपूर्वक बताइन् । त्यसपछि उनलाई जाहेरी दिन लगाएर यौनधन्दामा लगाउने सबैलाई पक्राउ गरियो,’ ब्युरोका प्रवक्ता एसपी मिश्रले भने ।

सुझावित समाचार