प्रेरक प्रसंग: मनमा रोप अमरत्वको बीज

बिहिबार, १३ असार, २०८१
डिजिटल संस्करण

एकपटक एक किसान बुद्ध भएको ठाउँमा आए । बुद्धलाई नमस्कार गरेपछि उनले भने– प्रभु, म एक साधारण किसान हुँ । खेतमा हलो चलाएर अन्न उत्पादन गरी म त्यसलाई खुसीसाथ ग्रहण गर्छु । तैपनि, यसबाट मेरो मन सन्तुष्ट हुँदैन । म यस्तो काम गर्न चाहन्छु, जसबाट मेरो खेतमा अमरत्वको फल उत्पादन होस् । हजुर मलाई यस्तो मार्गदर्शन गर्नुहोस् प्रभु, जसबाट मेरो खेतमा अमरत्वको फल उत्पादन हुन सकोस् । 

किसानको कुरा सुनेपछि बुद्धले मुस्कुराउँदै भने– हे असल मान्छे, तिमीलाई अमरत्वको फल त अवश्यै प्राप्त हुनेछ । तर, यसका लागि तिमीले खेतमा बीज रोपेर हुँदैन, मनमा रोप्नुपर्छ । बुद्धको कुरा सुनेपछि अचम्म मान्दै किसानले प्रश्न गरे– प्रभु, हजुर यो के भनिरहनुभएको छ ? मनमा पनि कहीँ बीज रोप्न सकिन्छ त ? किसानको हैरानी बुझेपछि बुद्धले भने– बिल्कुलै सकिन्छ । र, यी बीजबाट जुन फल प्राप्त हुनेछ, त्यो साँच्चै साधारण नभई अद्भूत हुनेछ । तिनै फलले तिमीलाई सफल पनि बनाउनेछन् र तिमीलाई इमानदारीको मार्ग पनि देखाउनेछन् । 

किसानले प्रश्न गरे– तर प्रभु, मलाई बताउनुहोस् त, मनमा बीज कसरी रोपूँ ? बुद्धले हाँस्दै जवाफ दिए– तिमी मनमा विश्वासको बीज रोप । विवेकको हलो जोत । ज्ञानको जलले त्यसलाई सिञ्चन गर र त्यसमा विनम्रताको मल हाल । यसबाट तिमीलाई अमरत्वको फल प्राप्त हुनेछ । त्यसलाई सेवन गरेपछि तिम्रा सारा दुःख हट्नेछन्, असीम शान्तिको अनुभूति हुनेछ । बुद्धबाट अमरत्वको फल प्राप्त गर्ने उपाय सुनेपछि किसानका आँखा खुले । उनले अमरत्वको फल सद्विचारद्वारा प्राप्त गर्न सकिने यथार्थ अनुभूत गरे ।

सुझावित समाचार