महान्यायाधिवक्ताले दुईवटा विकल्प दिएपछि धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया थप लम्बिने संकेत देखिएको छ । संक्षिप्त सूचीमा परेका पाँचजनामध्ये दुईजनाले मात्र कार्यमूल्यांकन प्रस्तुति दिएका छन् ।
महान्यायाधिवक्ता कार्यालयले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छनोटका लागि दुईवटा सुझाव दिएको छ । सर्टलिस्टमा परेका पाँचजना प्रतिस्पर्धीमध्ये तीनजना उपस्थित नभएपछि अध्यक्ष छनोट समितिले महान्यायाधिवक्ताको कार्यालयसँग राय माग गरेको थियो ।
स्रोतका अनुसार पहिलो सुझाव अहिलेको प्रक्रियालाई रद्द गरी नयाँ प्रक्रियामा जाने तथा दोस्रो राय, तीनजनाभन्दा बढीलाई सिफारिस गरेर जानु भन्ने रहेको छ । धितोपत्रसम्बन्धी ऐनको दफा ७ को उपदफा ४ अनुसार योग्यता पुगेका कम्तीमा तीनजना व्यक्तिको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ । स्रोतले भन्यो, ‘ऐनलाई टेकेर सुझाव दिएको छ, त्यो नभए अर्को विकल्प रद्द गर्नु नै हो ।’ महान्यायाधिवक्ताले दुईवटा विकल्प दिएपछि धितोपत्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया थप लम्बिने संकेत देखिएको छ ।
संक्षिप्त सूचीमा परेका पाँचजनामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठले मात्र कार्यमूल्यांकन प्रस्तुति दिएका छन् । दुईपटकको कार्यमूल्यांकन प्रस्तुतिका लागि आह्वान गरिए पनि डा. नवराज अधिकारी, कृष्णबहादुर कार्की र चिरञ्जीवी चापागाईं अनुपस्थित भएपछि छनोट समितिले थप कानुनी निर्णय गर्नका महान्यायाधिवक्तासँग राय माग गरेको थियो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार यो विषयमा के गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको छ । स्रोतले भन्यो, ‘अनुपस्थित तीनजनामध्ये एकजना तानेर ल्याउँदा विवाद थप पेचिलो बन्न सक्छ, पाँचजनालाई पेस गर्दा कार्यप्रस्तुति दिएका उम्मेदवारमाथि अन्याय हुन्छ, यस्तो अवस्थामा रद्द नै गरेर जाने सकिने सम्भावना बढी छ । यद्यपि, विभिन्न कोणबाट छलफल जारी छ ।’
सोमबार अर्थमन्त्री वर्षमान पुनले संसद्मा सर्टलिस्टमा परेका पाँचजनामध्ये एकजनालाई अध्यक्ष नियुक्त गरिने बताएका थिए । अध्यक्ष नियुक्तिका लागि गत माघ ३ गते नै सरकारले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरेको थियो ।