अमेरिकी जासुसी ऐन उल्लंघन गरेको अभियोग स्विकारेपछि जुलियन असान्ज जेलबाट रिहा भएका छन् । उत्तरी मारियाना टापुस्थित अदालतमा उपस्थिति जनाएपछि उनले स्वतन्त्रता पुनः प्राप्त गरेका छन् । असान्जको चुनौतीपूर्ण यात्रालाई नियाल्नु महत्वपूर्ण छ । असान्जले बेलायतको बेलमार्स जेलको एक साँघुरो कोठामा एक हजार नौ सय एक दिन बिताएका थिए, जहाँ विकिलिक्सको रिपोर्टअनुसार उनलाई ‘दिनहुँ २३ घन्टा’ एक्लै राखिन्थ्यो ।
आफ्नो व्यक्तिगत अनुभवलाई लिँदा म पनि कारावासको प्रताडना बुझ्छु । असान्जले कुटपिट वा यातनाजस्ता शारीरिक दुव्र्यवहार नभोगे पनि अनिश्चित अवस्थामा लामो समयसम्म एक्लोपनले निम्त्याउने तीव्र मानसिक आघातको पीडा व्यहोरेका छन् ।
स्विडेनमा सुपुर्दगीबाट बच्न लन्डनमा रहेको इक्वेडरको दूतावासमा शरण खोज्न करिब सात वर्ष बिताएपछि निराधार बलात्कार र जासुसीको आरोपमा अमेरिकामा सम्भावित स्थानान्तरणको दाबीपछि असान्ज पक्राउ परेका थिए । इक्वेडरले उनको शरण सन् २०१९ मा खारेज गरेको थियो । बेलायती अधिकारीले उनलाई जमानत सर्त उल्लंघन गरेको आरोपमा हिरासतमा लिएका थिए । अमेरिकाले कम्प्युटर ‘ह्याक’ गरेको षड्यन्त्र र १७ वटा जासुसीका आरोपमा उनको सुपुर्दगी मागेको थियो, जसलाई उनका समर्थकले आजीवन कारावासको सजाय हुने भनेर विरोध गरेका थिए ।
असान्जको पीडासँग तुलना गर्न नसकिने भए पनि मैले पनि इजिप्टमा सन् २०१४ देखि २०१५ को अवधि आतंकवादको आरोपमा हिरासतमा बिताएको थिएँ । मेरो कैदमा भएको ठूलो मानसिक र शारीरिक प्रताडनाले गहिरो पाठ पढाएको थियो । अचानकको मुक्तिले आउने आनन्द, भ्रम र विचलनको अनौठो मिश्रणको अनुभवबारे म पनि जानकार छु ।
पत्रकारितामा एक गम्भीर प्रभाव
असान्जको रिहाइले यस मुद्दासँग जोडिएको आधारभूत प्रश्नको समाधान दिँदैन । उनले स्थापना गरेको संगठन विकिलिक्सले इराक र अफगानिस्तानमा अमेरिकी सरकारले गरेको युद्ध अपराध र दुराचारको प्रमाण उजागर गर्ने दस्ताबेजको संग्रह जारी गरेपछि यो मामिला सतहमा आएको थियो । वास्तवमा विकिलिक्सले अमेरिकी संविधानको पहिलो संशोधनको अनुरुप काम गरिरहेको थियो । अर्थात् उसले अभिव्यक्ति स्वतन्त्रता एवं प्रेस स्वतन्त्रतालाई उँचो बनाउने काम गरेको थियो, जसले हरेक व्यक्तिलाई सरकारी शक्तिको दुरुपयोगको आलोचना गर्न अनुमति दिन्छ । यसले सरकारको अथाह अख्तियारी महत्वपूर्ण निरक्षणका रूपमा काम गर्छ र विकिलिक्सको यी मुद्दा उजागर गर्ने मान्यता योग्य छ ।
धेरैझैँ म असान्जले जासुसी आरोप नै सामना गर्नुपर्दैनथ्यो भन्नेमा विश्वास गर्छु । ओबामाको शासनकालमा पत्रकारलाई संवेदनशील सरकारी जानकारी चुहाउने स्रोतमाथि उल्लेखनीय दमन अभियान चलाइएको थियो । यद्यपि सन् २०१३ मा ओबामाको नेतृत्वमा न्याय विभागले असान्जलाई मुद्दा चलाउन नदिने निर्णय गर्यो । अधिकारीले यसो गर्दा न्युयोर्क टाइम्स र वासिंटन पोस्टजस्ता मूलधारका समाचार संस्थाविरुद्ध पनि मुद्दा चलाउन आवश्यक पर्ने एउटा नजिर स्थापित हुन सक्ने तथ्य स्विकारेका थिए ।
यो मुद्दा जसरी अघि बढ्यो, त्यसले निःसन्देह जनहितमा काम गर्ने पत्रकारितामा महत्वपूर्ण प्रभाव पारेको छ । अर्थात्, सरकारी दुरुपयोगको प्रमाण भएको सम्भावित स्रोतलाई एक विचलित गर्ने सन्देश दिएको छ, अर्थात् असान्जलाई दोषी ठहर गरी रिहा गरेर मुखवीर र पत्रकारलाई निरुत्साहित गर्ने काम भएको सकिन्छ । यसबाहेक भविष्यमा सरकारले आलोचनात्मक पत्रकारिताविरुद्ध ‘जासुसी ऐन’ प्रयोग गर्ने औचित्यका लागि असान्ज दोषी भएको याचिका प्रयोग गर्न सक्छ । इतिहासले अधिनायकवादी प्रवृत्ति भएका नेताले सूचना प्रवाहलाई नियन्त्रण गर्न प्रायः हरेक कानुनी माध्यमको दुरुपयोग गर्ने देखाएको छ । सत्तालाई जवाफदेही बनाउन स्वतन्त्र प्रेसको भूमिकालाई महत्व दिने जोकोहीका लागि पनि यो चिन्ताको विषय हो ।
लोकतान्त्रिक समाजमा पत्रकारिताले विशिष्ट भूमिका खेल्छ । पत्रकारिताले नैतिक र पेसागत मापदण्डअनुसार सूचना सम्हाल्ने र प्रस्तुत गर्ने जिम्मेवारी वहन गर्छ । मेरो विचारमा विकिलिक्सले यी मापदण्ड पूरा गर्दैन, अर्थात् फिल्टर नगरिएको र प्रशोधन नगरिएको जानकारी अनलाइनमा प्रकाशित गरेर यसले स्रोतसहित जानकारीसँग सम्बन्धित व्यक्तिलाई महत्वपूर्ण जोखिम पारेको थियो । तथापि विकिलिक्सले खुलासा गरेको सूचनाको महत्व वा मूल्यलाई अवमूल्यन गर्न सकिँदैन ।
अस्ट्रेलियाको पत्रकार संघ मिडिया इन्टरटेनमेन्ट एन्ड आर्ट्स एलायन्सले यो मुद्दालाई ‘मिडिया स्वतन्त्रताको इतिहासको सबैभन्दा कालो अवधिमध्ये एक’ भनेर सटिक टिप्पणी गरेको छ । पत्रकारितामा असान्सलाई रिहाई गर्न अपनाइएको शैलीले दिगो प्रभाव पार्ने निश्चित छ । अहिलेका लागि हामीले सामूहिक रूपमा एक त्यस्ता व्यक्तिको मुक्तिको सराहना गर्नुपर्छ, जसले शक्तिको दुरुपयोग उजागर गर्दा ठूलो कठिनाइ सहे ।
(ग्रेस्टे म्याकग्वायर विश्वविद्यालयका पत्रकारिता एवं सञ्चारका प्राध्यापक हुन्)
– द कन्भर्सेसनबाट