बाल यौन दुरुपयोग मुद्दामा बमजन दोषी ठहर

सर्लाही जिल्ला अदालतले १७ असारमा सजाय निर्धारण गर्ने

मंगलबार, ११ असार, २०८१
डिजिटल संस्करण
बाल यौन दुरुपयोग मुद्दामा बमजन दोषी ठहर

‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौनशोषण’ मुद्दामा २४ पुस ०८० मा सिआइबीको टोलीले बमजनलाई पक्राउ गरेको थियो

लिटिल बुद्ध भनिने ‘तपस्वी’ रामबहादुर बमजनलाई सर्लाही जिल्ला अदालतले बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गरेको छ । जिल्ला अदालत सर्लाहीका न्यायाधीश जीवनकुमार भण्डारीको सोमबारको एकल इजलासले बमजनलाई कसुरदार ठहर गरेको हो । 

सरकारी वकिल कार्यालयले पेस गरेको अभियोजनअनुसार इजलासबाट बमजन दोषी ठहर भएको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए । दुई प्रतिवादी ज्ञानबहादुर र डिगबहादुरले भने सफाइ पाएको अधिकारीले जनाए । दुवै पक्षका वकिलको बहसपछि इजलासमा फैसला भएको थियो । बमजन कसुरदार ठहर भए पनि सजाय निर्धारण भएको छैन । १७ असारमा अर्काे इजलासले सजाय निर्धारण गर्नेछ । 

बमजन हाल पुर्पक्षका लागि महोत्तरी कारागार जलेश्वरमा छन् । स्रेस्तेदार अधिकारीका अनुसार बहसमा प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सीताराम केसी एवं अधिवक्ता राम घिमिरे, मनोहर झा, राष्ट्रविमोचन तिमल्सिना र दिलीप झा तथा वादीको तर्फबाट जिल्ला सरकारी वकिलको कार्यालय मलंगवाका प्रमुख जिल्ला न्यायाधिवक्ता कैलाश दाहालले बहस गरेका थिए ।

‘लिटिल बुद्ध’समेत भनिने बमजनमाथि आश्रममा बस्ने अनुयायीको हत्या गरेको, बेपत्ता पारेको तथा यौनहिंसा गरेको आरोप छ । बमजनविरुद्ध पाँच परिवारले उजुरी दिएका छन्  । आश्रममा बस्दै आएका तीन युवती र दुई युवालाई बेपत्ता पारेको आरोपमा उनीविरुद्ध विभिन्न प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । 

एक बालिकाले सर्लाहीको लालबन्दी नगरपालिकास्थित पत्थरकोटमा रहेको गुम्बामा आफूमाथि पटक–पटक यौनहिंसा भएको भन्दै बारा जिल्लाको निजगढ नगरपालिका– १२ निवासी ३० वर्षीय बमजनविरुद्ध २३ माघ ०७६ मा जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिएकी थिइन् । 

लगत्तै बमजनविरुद्ध ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौनशोषण’ मुद्दा दर्तापछि सर्लाही जिल्ला अदालतले २१ असार ०७७ मा पक्राउ पुर्जी जारी गरेको थियो । सोही आधारमा बमजनलाई काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ६ स्थित निवासबाटै २४ पुस ०८० मा सिआइबीको टोलीले पक्राउ गरेको थियो । पक्राउ परेका बमजनलाई सर्लाही जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद रेग्मीको इजलासले २६ पुस ०८० मा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो । 
 

See More On

सुझावित समाचार