माओवादी सांसदको प्रश्न– अमेरिकी एयरफोर्सका विमान बारम्बार किन आइरहेका छन् ?

सोमबार, १० असार, २०८१
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका सांसद पूर्णबहादुर घर्तीमगरले नेपालमा अमेरिकी एयरफोर्सका जहाजहरू बारम्बार आइरहेको भन्दै सरकारसँग जवाफ मागेका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले भने, ‘गत वैशाख ६, ७, ८ र ९ गते अमेरिकी एयरफोर्सका पाँचवटा जहाज कतारबाट प्रत्येक साँझ आउने र बिहान फर्कने गरे । यही असार २ गते पनि मलेसियाबाट सोही एयरफोर्सको जहाज साँझ आएर बिहान फर्कियो । यी जहाजहरूमा के सामान आयो र कसका लागि ल्याइयो ?’

अमेरिकी एयरफोर्सको विमान आएको र गएको विषय सरकारी वा निजी सञ्चारमाध्यम कसैले पनि प्रकाशन–प्रसारण नगरेको भन्दै सांसद मगरले यस विषयमा सरकारको ध्यानाकर्षण गराए।

‘सामान्य (सामान) हो भने प्राइभेट जहाजमा आउनुपर्ने । सैन्य सामग्री हो भने किन र के प्रयोजनले ल्याइयो ? यसबारे न सरकारी सञ्चारमाध्यमबाट जानकारी भयो, न प्राइभेट सञ्चारमाध्यमबाटै,’ उनले भने।

नेपालको अस्थिर राजनीति र शक्तिराष्ट्रहरूको स्वार्थका कारण नेपालको सार्वभौमसत्ता र सुरक्षा संवेदनशीलताको अवस्था गम्भीर रहेको उल्लेख गर्दै उनले यस विषयमा गम्भीर हुन आग्रह गरे।

सुझावित समाचार