राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले छाउपडीमा बसेकी अछामकी बालिकामाथि भएको बलात्कारको घटनाबारे जवाफ दिन गृहमन्त्रीलाई निर्देशन दिएका छन्।
राष्ट्रिय सभाको आजको बैठकमा सदस्यहरूले उठाएका विषयमाथि सरकारको ध्यानाकर्षण गराउँदै अध्यक्ष दाहालले घटनाबारे सभालाई जानकारी गराउन गृहमन्त्रीलाई निर्देशन दिएका हुन्।
‘आजको राष्ट्रिय सभा बैठकमा गम्भीरताका साथ उठेको अछामको बालिकामाथि भएको घटनाबारे जानकारी र माननीय सदस्यहरूले उठाउनुभएको सवालका विषयमा जवाफ दिन म माननीय गृहमन्त्रीलाई ध्यानाकर्षण गराउँछु।’
अध्यक्ष दाहालले गत ४ असारको बैठकमा राष्ट्रिय सभा सदस्यहरूले शून्य समय, विशेष समयलगायत विभिन्न समयमा उठाएका विषयहरूमा जवाफ दिन पनि सरकारका नाममा निर्देशन दिएका छन्।
आजको बैठकमा अघिल्लो बैठकमा दिइएको ध्यानाकर्षणको स्मरण गराउँदै अध्यक्ष दाहालले सबै मन्त्रीहरूलाई जवाफ दिने कार्यतालिका नै बनाएर पठाइएको जानकारी गराए।