बागमती सरकारको बजेटमा भएको त्रुटि सच्याउने सहमति

शुक्रबार, ७ असार, २०८१
डिजिटल संस्करण

बागमती प्रदेश सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८१/८२ को बजेटमा भएको त्रुटि सच्याउने सहमति भएको छ।

मुख्यमन्त्रीको सरकारी निवासमा भएको सरकार र प्रतिपक्षी दलहरूबीचको बैठकमा बजेटमा भएको त्रुटि सच्याउने सहमति भएको कांग्रेसका प्रमुख सचेतक गोविन्द लम्सालले जानकारी दिए।

प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरूसँग यसअघि भएको सहमतिअनुसार विकास बजेट थप गर्न सरकारले प्रतिबद्धता जनाएको उनको भनाइ छ।

बजेट असन्तुलित र त्रुटिपूर्ण रहेको भन्दै प्रतिपक्षी दलहरू कांग्रेस र राप्रपाले प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए। प्रदेश सरकारको बजेटमाथि छलफलका लागि आह्वान गरिएको बिहीबारको बैठकमा प्रतिपक्षी दलहरूले नाराबाजी गरेपछि बैठक सरेको थियो।

शुक्रबार बिहान ११ बजे तोकिएको बैठक पनि दलहरूबीच सहमति नहुँदा सूचना टाँस गरेर स्थगित गरिएको थियो। दलहरूबीच सहमति भएसँगै प्रदेश सभाको बैठक आजै बस्ने प्रदेश सभा सचिवालयले जनाएको छ।

सुझावित समाचार