रोल्पालाई लुम्बिनी प्रदेशकै पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ। बिहीबार जिल्ला खोप समन्वय समिति रोल्पाको आयोजनामा लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री दीपेन्द्रकुमार पुनले पूर्णखोप सुनिश्चित भएको घोषणा गरेका हुन्।
कार्यक्रममा बोल्दै मन्त्री पुनले पछिल्लो समय सामाजिक अभियानहरू थप चुनौतीपूर्ण बन्दै गए पनि अभियानलाई सार्थक बनाउनुको विकल्प नरहेको बताए । सन् २०३० सम्ममा यसप्रकारका अभियानलाई सार्थक बनाउन सकिएन भने नेपालका सामु केही प्रश्नहरू उठ्ने उनको भनाइ छ।
विगतमा यस्ता अभियानहरू सार्थक भएको स्मरण गर्दै मन्त्री पुनले भने, ‘विगतमा मृत्यु भएकाहरूमध्ये आधा मान्छे औलोका कारण मर्थे। औलो उन्मूलन अभियानले जम्मा मृत्यु हुने मानिसको आधा जनसंख्यालाई बचायो। विभिन्न चरणहरू पार गरेर आज पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गरियो । अबको चुनौती दिगोपनाको हो । यसलाई दिगो बनाउनुपर्छ ।’
रोल्पाबाट निर्वाचित सांसदसमेत रहेका पुनले स्वास्थ्य, शिक्षा, कृषि अन्तरसम्बन्धित विषय भएको भन्दै यी सबै कुरालाई नसुधारे समग्र सामाजिक सुरक्षा प्राप्त नहुने बताए। सामाजिक सुरक्षा प्राप्तिका निम्ति नेपाल सरकारले यस्ता नीति कार्यक्रमहरू अवलम्बन गरिरहेकोसमेत उनको भनाइ थियो।
घोषणा सभामा स्वास्थ्य क्षेत्रमा विशिष्ट योगदान गर्ने विभिन्न तहका स्वास्थ्यकर्मीलाई सम्मान गरिएको स्वास्थ्य कार्यालय रोल्पाका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।