उपहारजन्य कलाकृति उत्पादन गर्न वार्षिक दुई लाख रोयल्टी बुझाउने गरी ३० वर्षसम्म लुम्बिनीको माटो लैजान कोषको अनुमति
लुम्बिनी विकास कोषले माटोमा आधारित उपहारजन्य कलाकृति उत्पादन गर्न एक गैरसरकारी संस्थालाई ३० वर्षका लागि अनुमति दिएको पाइएको छ । कोषका कोषाध्यक्ष ढुण्डीराज भट्टराईले आफू लुम्बिनी विकास कोषको निमित्त उपाध्यक्ष रहेका वेला पदीय दुरुपयोग गरी सुटुक्क लुम्बिनीको माटो विश्व बौद्ध धर्म संघ काठमाडौंलाई बिक्रीको अनुमति दिएको खुलेको हो । संघले वार्षिक दुई लाख रुपैयाँ रोयल्टी बुझाउने गरी ३० वर्षसम्म लुम्बिनीको माटो लैजाने प्रस्ताव ८ भदौ ०७९ मा पेस गरेको थियो । कोषले १६ भदौमा सम्झौता गरेको खुलेको हो । त्यसवेला भट्टराई कोषका निमित्त उपाध्यक्ष थिए ।
ढुण्डीराज भट्टराई, कोषाध्यक्ष, लुम्बिनी विकास कोष
यो कार्यक्रमले लुम्बिनी विकास कोष र स्थानीयको आयआर्जनमा सहयोग पुग्छ । राम्रो कार्यक्रम हो । तर, केही मानिस यो सफल नहोस् भनेर लागेका छन् ।
कुनै संघसंस्थालाई ३० वर्षसम्म पुरातात्विक महत्वको क्षेत्रमा रहेको सम्पत्ति प्रयोग गर्न दिँदा सूचना प्रकाशित गरी प्रतिस्पर्धा गराउनुपर्नेमा त्यसो नगरी गैरनाफामूलक संस्थाबाट वार्षिक दुई लाख अथवा दश प्रतिशत भन्ने रकम लुम्बिनी विकास कोषले पाउने भन्ने उल्लेख छ । सम्झौतापत्रमा कोषका तर्फबाट तत्कालीन निमित्त उपाध्यक्ष हालका कोषाध्यक्ष भट्टराई र कोषका कर्मचारी हिमाल उप्रेती तथा विश्व बौद्ध धर्म संघका तर्फबाट भीम सुवा र हिराबहादुर मल्लले हस्ताक्षर गरेका छन् ।
कोष स्थापना भएपछि कोषबाट हुने आम्दानीका कामको पहिलो अधिकार स्थानीय हुने आश्वासनसहित स्थानीयबाट ११ सय बिघा जग्गा अधिग्रहण गरिएको थियो । अधिग्रहण गरिएको जग्गामध्ये अधिकांशले अझै पनि मुआब्जा पाएका छैन्न् । लुम्बिनीको माटो, पानी, काठ, फूललगायतको प्रयोगबाट स्थानीयको आयआर्जन वृद्धि गर्ने दायित्व कोषको हो । तर, पुरातात्विक महत्वको क्षेत्रमा रहेका सम्पत्तिबाट बनेका कलाकृति उत्पादन गरी आयआर्जन वृद्धि गर्ने अवसर दिनुपर्नेमा स्थानीयलाई बाइपास गरी काठमाडौंको गैरसरकारी संस्थालाई दिइएको छ । कोषको यो निर्णयसँग स्थानीय रुष्ट बनेका छन् ।
कोषका कोषाध्यक्ष भट्टराईले यो कार्यक्रमले लुम्बिनी विकास कोष र स्थानीयको आयआर्जनमा सहयोग पुग्ने दाबी गरे । ‘यो राम्रो कार्यक्रम हो । तर, केही मानिस यो सफल नहोस् भनेर लागेका छन्,’ उनले भने । वार्षिक दुई लाख रुपैयाँ अर्थात् बिक्रीको १० प्रतिशत रकम दिने सहमति भएको उनले बताए । ‘राम्रो काम लुम्बिनीमा हुन नदिने प्रचलन बढ्यो,’ भट्टराईले भने ।
लुम्बिनी बचाउ संघर्ष समितिका अध्यक्ष रामविकास चौधरीले लुम्बिनीको माटो बिक्री गर्ने कार्य कुनै हालतमा मान्य नभएको बताए । स्थानीयलाई जानकारी नदिई कोषले आफूखुसी निर्णय गरेको भन्दै उनले सम्झौता रद्द हुनुपर्ने माग गरे । ‘हामीले कोषका पदाधिकारीलाई यो निर्णय अस्वीकार्य छ भनेका छौँ, कुनै हालतमा सम्झौता रद्द हुनुपर्दछ,’ उनले भने । लुम्बिनी बचाउ महाअभियानका सहसंयोजक मेघराज आचार्यले स्थानीयलाई धोका दिएर कोषले गरेको सम्झौता तत्काल रद्द हुनुपर्ने बताए । ‘कोषले गर्ने हरेक गतिविधिबारे लुम्बिनीवासीलाई जानकारी हुन आवश्यक छ,’ उनले भने ।
लुम्बिनी होटेल संघका अध्यक्ष गोविन्द ज्ञवालीले कोषका कर्मचारी र पदाधिकारीले आफ्नो अधिकार दुरुपयोग गरेको आरोप लगाए । ‘विश्वसम्पदा सूचीमा सूचीकृत लुम्बिनीभित्र रहेका हरेक वस्तु बहुमूल्य छन् । लुम्बिनी विकास कोषका कर्मचारी र पदाधिकारीले बहुमूल्य वस्तुहरूको लुकिछिपी दुरुपयोग गरेको पाएका छौँ, यो तत्काल रोक्नुपर्दछ । अन्यथा कोषले ठूलो मूल्य चुकाउनुपर्नेछ,’ उनले भने ।
लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारकाल लामाले स्थानीयको सहभागिताविना लुम्बिनीको विकास सम्भव नभएको बताए । ‘माटो बिक्रीको विषय म उपाध्यक्ष नियुक्ति हुनुअगावै भएको निर्णय रहेछ । यसलाई स्थानीयको राय लिएर निर्णय गर्नेछु,’ उनले भने ।