टी–२० फर्म्याटमा राम्रा खेलाडी मानिने भारतका हार्दिक पाण्ड्या, इंग्ल्यान्डका लिआम लिभिङस्टोन तथा मोइन अली, दक्षिण अफ्रिकाका एडेन माक्राम र अस्ट्रेलियाका ग्लेन म्याक्सवेललाई दीपेन्द्रसिंहले पछि पारे
नेपालका दीपेन्द्रसिंह ऐरी आइसिसी टी–२० अलराउन्डर वरीयताको छैटौँ स्थानमा पुगेका छन् । आइसिसीले बुधबार जुनको सबै फर्म्याटको वरीयता सार्वजनिक गरेको छ । दीपेन्द्रले तीन स्थान सुधार गरेका छन् । अघिल्लोपटक उनी नवौँ स्थानमा थिए । अलराउन्डरतर्फ करिअरकै उत्कृष्ट स्थान हात पार्ने क्रममा उनले १९९ रेटिङ प्राप्त गरेका छन् । उनीभन्दा एक स्थानमाथि जिम्बावेका सिकन्दर राजा छन् ।
उनले भारतका अलराउन्डर तथा मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई एक स्थानले पछि पारेका छन् । पाण्ड्या १९२ रेटिङका साथ छैटौँ स्थानमा छन् ।
टी–२० फर्म्याटमा राम्रा खेलाडी मानिने इंग्ल्यान्डका लिआम लिभिङस्टोन तथा मोइन अली तथा दक्षिण अफ्रिकाका एडेन माक्राम नेपालका दीपेन्द्रभन्दा पछि परेका छन् । टी–२० अलराउन्डरको शीर्ष स्थानमा अस्ट्रेलियाका मार्कोस स्टोनिस छन् । दोस्रो स्थानमा श्रीलंकाका वानिन्दु हसरंगा र तेस्रो स्थानमा बंगलादेशका सकिब अल हसन रहेका छन् । टी–२० मा राम्रा खेलाडीका रूपमा रहेका अस्ट्रेलियाका ग्लेन म्याक्सवेल, पाकिस्तानका इमाद वासिम, श्रीलंकाका दुसान सनका, भारतका अक्षर पटेल तथा अस्ट्रेलियाका मिचेल मार्सजस्ता खेलाडी यसपटक दीपेन्द्रभन्दा पछि परेका छन् ।
टी–२० अलराउन्डरमा नेपालका कुशल मल्लले एक स्थान गुमाएका छन् । यसपटक उनी ३६औँ स्थानमा रहेका छन् । उनले ९२ रेटिङ अंक प्राप्त गरेका छन् । नेपालका कप्तान रोहितकुमार पौडेलले वरीयतामा ११ स्थान सुधार गरेका छन् । वरीयताअनुसार ५५औँ स्थानमा रहँदा उनले ७० रेटिङ अंक पाएका छन् । उनीभन्दा एक स्थानमाथि बंगलादेशका मेहदी हसन छन् । नेपालका गुल्सन झा ६ स्थान गुमाउँदै ६८औँ स्थानमा रहे । उनले ५५ रेटिङ अंक हात पारेका छन् ।
नेपालका ओपनर कुशल भुर्तेलले एकैपटक ४३ स्थान फड्को मारेका छन् । ५४ रेटिङ अंकका साथ भुर्तेल ७०औँ स्थानमा छन् । उनीभन्दा एक स्थान तल न्युजिल्यान्डका माइकल ब्रासवेल छन् । नेपालका फास्ट बलर करण केसीले ६ स्थान गुमाए । ५१ रेटिङ अंक पाएका करण ७५औँ स्थानमा रहे ।
टी–२० ब्याटिङमा दीपेन्द्रको पाँच स्थान सुधार
अलराउन्डरतर्फ तीन स्थान सुधार गरेका दीपेन्द्रले टी–२० ब्याटिङमा पाँच स्थान फड्को मारेका छन् । आइसिसी टी–२० विश्वकपमा गतिलो प्रदर्शन गर्न नसकेका उनी ताजा वरीयताअनुसार ४६औँ स्थानमा छन् । उनले ५०२ अंक जोडेका छन् । उनीभन्दा एक स्थानमुनि इंग्ल्यान्डका लिआम लिभिङस्टोन छन् । यस विधामा नेपालका दीपेन्द्रले भारतका विराट कोहली (५०), रोहित शर्मा (५१), अफगानिस्तानका मोहमद नाबी (५२), पाकिस्तानका फखर जमान (५६) र इंग्ल्यान्डका मोइन अली (५८) लाई पछि पारेका छन् । ब्याटिङमा नेपालका रोहितले ६ स्थान गुमाएका छन् । उनी अहिले ६१औँ स्थानमा रहेको आइसिसीले जनाएको छ । रोहितले पाकिस्तानका इफतिखर अहमेद (६६) र भारतका शुभमन गिल (६७) लाई पछि परे । यस विधामा नेपालका ओपनर आसिफ शेखले २० स्थान सुधार गरेका छन् । ४३१ रेटिङ अंकका साथ उनी ७०औँ स्थानमा रहे ।
एकदिवसीय ब्याटिङमा तीन खेलाडी
आइसिसी एकदिवसीय ब्याटिङ वरीयतामा नेपालका तीनजना खेलाडी मात्र परेका छन् । ओपनर आसिफ शेख ७५औँ स्थानमा छन् । उनले एक स्थान गुमाएका छन् । यसैगरी कुशल भुर्तेल दुई स्थान गुमाउँदै ७८औँ स्थानमा रहे । नेपालका कप्तान राोहितले एक स्थान सुधार गरेका छन् । ४४२ रेटिङ अंकका साथ उनी ९३औँ स्थानमा छन् । यस विधामा दीपेद्रसिंहले स्थान बनाउन सकेनन् । यसैगरी, टी–२० बलिङ वरीयतामा नेपालका सोपपाल कामीले आठ स्थान सुधार गरेका छन् । वरीयताअनुसार उनी ९१औँ स्थानमा छन् । उनले ४१० अंक जोडेका छन् ।
एकदिवसीय बलिङ वरीयतामा दीपेन्द्रसिंहले २७ स्थान सुधार गरे । ३९८ रेटिङका साथ उनी ९६औँ स्थानमा रहे । उनी एकदिवसीय अलराउन्डरतर्फ ४४औँ स्थानमा रहे । उनले यसपटक एक स्थान सुधार गरेका हुन् । एकदिवसीय अलराउन्डर वरीयतामा कुशल मल्लले एक स्थान सुधार गरी ५०औँ स्थान प्राप्त गरेका छन् । सोमपाल १४१ रेटिङका साथ ५४औँ स्थानमा छन् । यस विधामा सन्दीप लामिछाने ७३औँ स्थानमै यथावत् रहे ।
नेपालका लेग स्पिनर सन्दीप लामिछाने एकदिवसीय बलिङ वरीयतातर्फ ४७औँ स्थानमा रहेका छन् । उनले तीन स्थान गुमाएका छन् । सन्दीपले ५०२ रेटिङ पाएका छन् । यसैगरी, ललित राजवंशी एक स्थान गुमाउँदै ५५ स्थानमा रहे । उनले ४८५ रेटिङ पाए । दीपेन्द्रसिंह ६३औँ स्थानमा छन् । सोमपाल कामी ८१औँ स्थानमा यथवात् रहे ।
टी–२० वरीयतामा नेपाल यथावत्
आइसिसी टी–२० विश्वकपको समूह चरणबाटै बाहिरिएको नेपाल आइसिसीको वरीयतामा यथवात् रहेको छ । आइसिसीले जुनको टी–२० वरीयता सार्वजनिक गर्दा नेपाल १८औँ स्थानमा छ । नेपालले १७१ रेटिङ अंक पाएको छ । नेपालभन्दा एक स्थानमाथि अमेरिका र एक स्थान तल ओमान छ । एकदिवसीय वरीयतामा नेपालले दुई स्थान गुमाएको छ । ३१ रेटिङ अंक पाएको नेपाल १७औँ स्थानमा छ । नेपालभन्दा एक स्थानमाथि नामिबिया र एक स्थान तल अमेरिका रहेको छ ।