प्रतिनिधिसभा बैठक : दुधको भुक्तानी गर्न सांसदहरूको माग

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभाको बैठकमा नेकपा (एमाले)का प्रमुख सचेतक महेशकुमार बर्तौलाले किसानलाई दुधको भुक्तानी तत्काल दिन माग गरेका छन् ।  किसानका  समस्या सरकारले तत्काल वार्तामार्फत सम्बोधन गर्नुपर्ने उनले उल्लेख गरे । 

प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले किसानले दुधको भुक्तानीको माग गर्दै आन्दोलन गरेको लामो समय भएकाले सरकारले तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिए । धर्नामा बसेका ४५ किसानलाई पक्राउ गर्नु दुःखद भएको उनको भनाइ थियो ।

 ‘किसानको माग न्यायोचित छ, ६ लाख किसानले करिब रु. ६ अर्ब भुक्तानी पाउन बाँकी छ,’ प्रमुख सचेतक बर्तौलाले भने, ‘किसानले बैंकबाट ऋण लिएका छन्, तिर्ने अवस्था छैन ।’ उनले  किसानको समस्याको विषयमा कृषि मन्त्रालय, अर्थ मन्त्रालय र प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै दुधको भुक्तानीको बक्यौता अविलम्ब उपलब्ध गराउनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेसकी सांसद नागिना यादवले किसानको जीविकोपार्जनको मुख्य आधार कृषि भएकाले किसानको जायज माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराइन् । ‘आन्दोलनरत किसानको माग तत्काल सम्बोधन गर्नुपर्छ,’ उनले भनिन्। 

सुझावित समाचार