राष्ट्रपति पौडेल स्वदेश फिर्ता

बुधबार, ६ असार, २०८१
डिजिटल संस्करण

राष्ट्रपति रामचन्द्र पौडेल स्वदेश फर्किएका छन् । उनी स्विट्जरल्यान्ड र जर्मनीको भ्रमण पूरा गरी केहीबेर अघि स्वदेश फर्किएका हुन्। राष्ट्रपति पौडेललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपराष्ट्रपति रामसहायप्रसाद यादव र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वागत गरे । त्यस अवसरमा राष्ट्रपतिको सम्मानमा नेपाली सेनाको एक टोलीले सम्मान गारत अर्पण गरेको थियो ।

राष्ट्रपति पौडेलको स्वागतका लागि विमानस्थलमा राष्ट्रिय सभाका अध्यक्ष, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सुरक्षा निकायका प्रमुख, सरकारका उच्चपदस्थ अधिकारी, कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि उपस्थित थिए ।

राष्ट्रपति पौडेल गत जेठ २९ गते अन्तर्राष्ट्रिय श्रम संगठनले जेनेभामा आयोजना गरेको अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय बैठकमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका थिए । उक्त सम्मेलनमा सहभागी भई उनी असार १ गते संघीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणमा थिए ।  

राष्ट्रपति पौडेलकाे भ्रमण टाेलीमा प्रथम महिला सविता पौडेल, राष्ट्रपतिका परराष्ट्र मामिलाविज्ञ डा. सुरेशचन्द्र चालिसे, राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका सचिवहरूलगायत थिए ।
 

सुझावित समाचार