ताप्लेजुङमा १० दिनदेखि अविरल परेको पानीले मानवीयसँगै लाखौँको भौतिक क्षति भएको छ । गत जेठ २७ गतेदेखि असार ५ गते बिहानसम्म अविरल रूपमा पानी परिरहेको छ । ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक रवि रावलले अहिलेसम्म संकलन गरिएको विवरणअनुसार पहिरोमा परी दुई पुरुष र तीन महिलासहित पाँचजनाको मृत्यु भएको बताए ।
मृत्यु हुनेमा फक्ताङलुङ गाउँपालिका– २ खेजेनिमका ७० वर्षीय रामबहादुर साम्रा लिम्बू, उनकी श्रीमती ४८ वर्षीया जसमाया लिवाङ साम्रा लिम्बू र उनीहरूका दुई जुम्ल्याहा छोरीहरू १० वर्षीया गंगा र जमुनाको मृत्यु भएको प्रहरी प्रमुख रावलले बताए । उता, सिरीजंघा गाउँपालिकास्थित निर्माणाधीन काबेली तेस्रो हाइड्रोपावर परियोजनामा कार्यरत पाँचथरको फिदिम नगरपालिका– १४ लुङ्पा घर भएका २५ वर्षीय सविन राईको पहिरोमा पुरिएर मृत्यु भएको छ ।
दुईजना घाइते भएका छन् । घाइते हुनेमा फक्ताङलुङ– २ खेजेनिमका ४० वर्षीय युगेन लिम्बू र उनकी तीन वर्षीया छोरी घाइते भएको र उनीहरू उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।
जिल्लामा ८१ घरपरिवार विस्थापित
जिल्लाका विभिन्न ठाउँँमा ८१ घरपरिवार विस्थापित भएका छन् । विभिन्न क्षेत्रमा १८ घर उच्च जोखिममा र ५५ घर जोखिममा रहेको विवरण संकलन भएको प्रहरी प्रमुख रावलकाे भनाइ छ । उनका अनुसार विस्थापित ८१ परिवारका एक सय ६३ जना महिला र एक सय ७९ जना पुरुष गरी तीन सय ४२ जना विस्थापित भएका छन् । विस्थापित भएका परिवारहरू केही विद्यालय बस्दै आएका छन् भने केही आफन्त र छरछिमेककोमा बस्दै आएका छन् ।
बाढीपहिरोले जिल्लाका विभिन्न खोलामाथि रहेका पाँचवटा पुल बगाएको छ । दुई काठेपुल, एक झोलुंगे पुल तथा एक मान्छे हिँड्ने पुल बगाएको प्रहरी प्रमुख रावलले बताए । एक क्रसर उद्योग, सवारीसाधन चार, पशुपालन फर्म एक र नौवटा गोठमा बाढीपहिरोले क्षति गरेको छ । त्यस्तै, विभिन्न स्थानका नौवटा अलैँची खेती बाढीपहिरोले बगाएको छ ।
बाढीपहिरोले बगाएर वा पुरिएर ८४ वटा चौपाया मरेको प्रहरी प्रमुख रावलले बताए । ३१ वटा पशुपन्छी साथै विभिन्न क्षेत्रका बाटोहरू अवरुद्ध हुँदा ग्रामीण क्षेत्रसँग यातायात सम्पर्क टुटेको छ ।
राहतको व्यवस्था
ताप्लेजुङको फक्ताङलुङ– २ खेजेनिमका पीडित परिवारलाई कोशी प्रदेश सरकारले राहतस्वरूप नगद तीन लाख रुपैयाँ दिएको छ । पीडित परिवारका सदस्य विकास साम्रा र आदित्य साम्रालाई नगद हस्तान्तरण गरिएको हो ।
कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलाबल्लभ अधिकारी, ताप्लेजुङका प्रदेश सांसदहरू तिलकुमार मेन्याङबो, खगेनसिंह हाङगाम र निर्मला तावाले पीडित परिवारलाई संयुक्त रूपमा राहतस्वरूप नगद हस्तान्तरण गरे ।
शनिबार बसेको कोशी प्रदेशको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार पीडित परिवारलाई नगद प्रदान गरिएकाे हाे ।
ताप्लेजुङ जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभाका सदस्यहरू योगेश भट्टराई, उर्मिला थेबे, लीला बाेखिम लिम्बूले संयुक्त रूपमा तत्काल राहत उपलब्ध गराउन उपप्रधानमन्त्री तथा गृहमन्त्रीको ध्यानाकर्षण गराएका छन् ।