ब्रिक्समा सामेल हुने मलेसियाको इच्छा

बुधबार, ५ असार, २०८१
डिजिटल संस्करण

मलेसियाका प्रधानमन्त्रीले उदीयमान अर्थतन्त्रहरूको समूह ब्रिक्समा सामेल हुन चाहेको बताए । चिनियाँ मिडिया आउटलेट ‘गुआन्चा’लाई दिइएको अन्तर्वार्तामा मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमले आफ्नो सरकारले छिट्टै यस समूहमा सामेल हुने प्रक्रिया सुरु गर्ने जानकारी दिए । यस विषयमा हाल ब्रिक्सको अध्यक्ष रहेको दक्षिण अफ्रिकाबाट प्रतिक्रिया पाएपछि नै यो प्रक्रिया सुरु हुने उनले भने ।

‘हामीले हाम्रो नीति स्पष्ट पार्दै हामीले आफ्नो तर्फबाट निर्णय गरेका छौँ । हामी छिट्टै औपचारिक प्रक्रिया सुरु गर्नेछौँ,’ अनवरले सांघाईस्थित आउटलेट गुआन्चालाई भने । सन् २००६ मा स्थापना भएको ब्रिक्स समूहमा सुरुमा चार सदस्य थिए । ब्राजिल, रुस, भारत  र चीनको अंग्रेजी नामको पहिलो अक्षर मिलाएर ब्रिक नामकरण भएको समूहमा सन् २०१० मा दक्षिण अफ्रिका सामेल भयो । त्यसपछि समूहको नामको पछाडि एस थपेर ब्रिक्स बनाइएको थियो । दक्षिण अफ्रिकामा सम्पन्न समूहको पछिल्लो बैठकले इजिप्ट, इथियोपिया, इरान, साउदी अरब र संयुक्त अरब इमिरेट्स (युएई)लाई समूहको सदस्यता दियो । 

चीन र मलेसियाबीचको कूटनीतिक सम्बन्धको ५०औँ वर्षगाँठको उपलक्ष्यमा चिनियाँ प्रधानमन्त्री ली छ्याङको मलेसिया भ्रमणअघि अनवरको यस्तो टिप्पणी आएको हो । मंगलबारबाट सुरु हुने लीको तीनदिने भ्रमणका क्रममा क्वालालम्पुर र बेइजिङबीच पाँचवर्षे आर्थिक सहयोग नवीकरण हुने अपेक्षा गरिएको छ । भ्रमणका क्रममा दुई देशबीच डिजिटल अर्थतन्त्र र हरित विकासलगायत क्षेत्रमा सहकार्य गर्नेसम्बन्धी सम्झौतापत्रमा पनि हस्ताक्षर हुने कार्ययोजना छ । चीन सन् २००९ देखि मलेसियाको सबैभन्दा ठूलो व्यापार साझेदार रहँदै आएको छ । गतवर्ष दुई देशबीच कुल व्यापार ४५०.८४ बिलियन रिंगिट (४९८.९० बिलियन) पुगेको थियो ।
 

See More On

सुझावित समाचार