विमानस्थलबाटै बाहिरिएको तस्करीको ६० केजी सुन अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले थप एक चिनियाँ नागरिकलाई पेस्तोल र ६ राउन्ड गोलीसहित पक्राउ गरेको छ । कुङ्गा टासी शेर्पा भनिने गेङ्गा शाशी पक्राउ परेका हुन् । उनीसँग नेपाली नागरिकता र सोही नागरिकता प्रयोग गरी बनाएको सवारी अनुमतिपत्र (लाइसेन्स)समेत फेला परेको छ ।
सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले भने, ‘६० केजी सुन तस्करी अनुसन्धानका क्रममा अर्का चिनियाँ नागरिक कुङ्गा टासी शेर्पा भनिने गेङ्गा शाशी पक्राउ परेका छन् । उनको साथबाट मेड इन जर्मनी लेखिएको माउजर र ६ राउन्ड गोली भेटिएको छ । उनीसँग नेपाली नागरिकता र सोही नाममा जारी भएको सवारीचालक अनुमतिपत्र पनि बरामद भएको छ ।’
सिआइबीका अनुसार गेङ्गाले कुङ्गा टासी शेर्पाको नाममा नेपाली नागरिकता लिएका हुन् । उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय काठमाडौंबाटै जारी भएको देखिन्छ । सोही नाममा सवारीचालक अनुमतिपत्र पनि जारी भएको छ । सवारीचालक लाइसेन्समा बुबाको नाम आङ नोर्बु शेर्पा लेखिएको छ । २५ साउन ०५८ मा जारी भएको लाइसेन्समा ठेगाना काठमाडौं महानगरपालिका उल्लेख रहेको एसपी बोगटीले बताए ।
सिआइबीले अनुसन्धानका सिलसिलामा आइतबार चिनियाँ नागरिक शेरब ग्याल्मोलाई ६ केजी सुन र ४८ लाख रुपैयाँसहित बौद्ध तीनचुलीबाट पक्राउ गरेको थियो । उनीसँग पनि नेपाली नागरिकता फेला परेको थियो । सोनाम गुरुङको नाममा जारी भएको नागरिकता मुस्ताङको लोमान्थाङबाट झिकिएको थियो । उनी र मंगलबार पक्राउ परेका गेङ्गा एउटै गिरोहका सदस्य रहेको सिआइबी प्रवक्ता एसपी बोगटीले बताए । उनका अनुसार दुवैले तस्कर भई आएको सुनको भुक्तानी युएसडिटी (क्रिप्टो)मार्फत गर्दैै आएका थिए ।
दोस्रो चरणको अनुसन्धानमा सिआइबीले हालसम्म दुई चिनियाँसहित २९ जनालाई पक्राउ गरिसकेको छ । तस्करीको सुनको अवैध रूपमा विदेशमा भुक्तानीमा संलग्न पे–वेल नेपाल र सजिलो–पे नामक डिजिटल वालेट कम्पनीका सञ्चालकलाई समेत प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । ती दुई वालेट कम्पनीले करिब खर्ब रुपैयाँबराबरको अवैध हुन्डी कारोबार गरेको भेटिएको छ । तस्करीको सुनको अवैध भुक्तानीमा संलग्न गिरोहमाथि केन्द्रित गरी अनुसन्धान भइरहेको सिआइबीका एआइजी श्यामलाल ज्ञवालीले बताए ।
सुन तस्करीमा संलग्न थप दुई नेपाली पक्राउ
सुन तस्करी र क्रिप्टो तथा हुन्डी कारोबार गिरोहमा संलग्न थप दुई नेपाली पक्राउ परेका छन् । ब्रेकसुमा लुकाएर सुन तस्करी गर्ने गिरोहमाथि दोस्रो चरणमा चलिरहेको अनुसन्धानमा सिआइबीले चितवनका मनोज श्रेष्ठ र रूपक भण्डारीलाई पक्राउ गरेको हो । सिआइबीका अनुसार श्रेष्ठ चितवनका सुन पसले हुन् । उनले तस्करीको सुन बिक्री गर्नुका साथै भारतमा समेत लैजाने गरेको अनुसन्धानमा खुलेको छ । त्यस्तै, भण्डारी न्युरोडमा सुन गाल्ने काम गर्थे ।
दोस्रो चरणको अनुसन्धानमा सिआइबीले हालसम्म दुई चिनियाँसहित २९ जनालाई पक्राउ गरिसकेको छ । सुन किनबेच गर्ने समूहका साथै हुन्डी, क्रिप्टो तथा युएसडिटीको अवैध कारोबार गर्ने समूहहरू पत्ता लागेका छन् । केहीलाई भारतबाट समेत पक्राउ गरी ल्याइएको सिआइबी स्रोत बताउँछ । दोस्रो चरणको अनुसन्धान यही साता सकाएर सिआइबीले सरकारी वकिलमा प्रतिवेदन बुझाउने तयारी गरेको छ ।