संसद्को परम्परा अन्त्य नगरियोस् : सांसद पौडेल

मंगलबार, ४ असार, २०८१
डिजिटल संस्करण
संसद्को परम्परा अन्त्य नगरियोस् : सांसद पौडेल

प्रतिनिधिसभाको मंगलबारको बैठकमो शून्य समयमा धारणा राख्दै कांग्रेस सांसद प्रदीप पौडेल । तस्बिर : अमुल थापा/नयाँ पत्रिका।

कांग्रेस सांसद प्रदीप पौडेलले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विदेश भ्रमणबारे संसद्लाई जानकारी दिन माग गरेका छन् । 

प्रतिनिधिसभाकाे मंगलबारको बैठकको शून्य समयमा सांसद पौडेलले राष्ट्रपति र प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसद्लाई जानकारी दिन माग गरेका हुन्।

राष्ट्रप्रमुख तथा सरकारप्रमुखको विदेश भ्रमणबारे संसद्लाई जानकारी दिने परम्परा रहेको चर्चा गर्दै उनले त्यस्तो परम्परा अन्त्य नगर्न ध्यानाकर्षण गराए।

‘प्रधानमन्त्री भारत भ्रमण सकेर फर्किएपछि ६ पटक संसद् बैठक बसिसकेको छ। अहिले राष्ट्रपतिको विदेश भ्रमण जारी छ,’ सांसद पौडेलले भने, ‘राष्ट्रप्रमुख र सरकारप्रमुखको विदेश भ्रमणबारे संसद्लाई जानकारी दिने परम्पराको अन्त्य नगरियोस् भन्दै ध्यानाकर्षण गराउन चाहन्छु।’

अन्तर्राष्ट्रिय श्रम सम्मेलनको ११२औँ उच्चस्तरीय सत्रमा सहभागी हुन गएका राष्ट्रपति पौडेल हाल युरोपका विभिन्न देशको भ्रमणमा छन्। त्यसअघि प्रधानमन्त्री प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहणमा सहभागी भएका थिए।

सुझावित समाचार