न्युजिल्यान्डबाट अस्ट्रेलियाको मेलबर्नका लागि उडेको एक यात्रुवाहक विमानको इन्जिनमा आगलागीपछि विमानलाई आकस्मिक अवतरण गरिएको छ । आगलागीपछि इन्जिनमा थप समस्या देखिन थालेपछि आकस्मिक अवतरण गराउनु परेको हो ।
न्युजिल्यान्डको क्विन्सटाउनबाट मेलबर्नका लागि उडेको भर्जिन अस्ट्रेलिया बोइङ ७३७–८०० जेट विमानमा समस्या देखिएपछि इन्भरकार्गिल सहरमा आकस्मिक अवतरण गरिएको हो । उडेको ५० मिनेटमा उक्त समस्या देखिएको थियो ।क्विन्सटाउन विमानस्थलकी प्रवक्ता क्याथरिन निन्डले इन्जिनमा आगलागी हुनुको कारण तत्काल थाहा नभएको बताइन् ।
तर, भर्जिन अस्ट्रेलियाले इमेलमार्फत जारी गरेको विज्ञप्तिमा विमानमा चरा ठोक्किएको हुन सक्ने आशंका गरिएको छ । करिब ५३ हजार जनसंख्या रहेको क्विन्सटाउन न्युजिल्यान्डको दक्षिणी टापुमा स्किइङ, साहसिक पर्यटनका लागि लोकप्रिय गन्तव्य हो । न्युजिल्यान्डको उड्डयन नियामक निकायले आफ्नो वेबसाइटमा भनेको छ, ‘न्युजिल्यान्डका विमानस्थलमा प्रति १० हजार चार चरा ठोक्किने अध्ययनले देखाएको छ ।’