सांसदहरूले खर्चालु विदेशी पर्यटकलाई आकर्षण गर्ने योजना र कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएका छन् । शुक्रबार संसद्मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसदहरूले पर्यटन क्षेत्रको बजेट बढाउन र पूर्वाधार निर्माणमा जोड दिनुपर्ने पनि बताएका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी संसद् सोबिता गौतमले भुटानमा जस्तै खर्चालु पर्यटक भित्र्याउने नीति लिनुपर्ने बताइन् । उनले ‘ब्याग प्याकर्स’ पर्यटक भित्र्याएर नेपाली पर्यटनमा योगदान नपुग्ने बताउँदै बजेटमा धेरै टुक्रे कार्यक्रम राखिएकोमा पनि असन्तुष्टि व्यक्त गरिन् । ‘यही सदनमै धेरै संसद्ले टुक्रे बजेटलाई प्रशय नदिऔँ भनेर बालेकै विषय हो,’ उनले भनिन्, ‘तर, यति धेरै टुक्रे बजेट देखिए कि यो एकलाखे बजेटले लाखे नाच आयोजना गर्न पनि सकिँदैन ।’
एक स्थानमा पर्यटक आएपछि अर्को पर्यटकीय स्थानमा जान मिल्ने गरी ‘डेस्टिनेसन टु डेस्टिनेसन’ पर्यटकीय गन्तव्य जोड्ने कार्यक्रम आउनुपर्नेमा त्यसो नभएको गौतमको गुनासो छ ।
एमाले सांसद सुहाङ नेम्वाङले बजेटले इलाम क्षेत्रलाई उपेक्षा गरेको गुनासो पोखे । ‘बजेटको पाना पल्टाउँदा संस्कृतितर्फ मन्दिर निर्माण गर्न बजेट परेको रहेछ, पर्यटन क्षेत्रतर्फ बजेट शून्य रहेछ,’ उनले भने, ‘हामीले मानवनिर्मित संरचना भएका ठाउँतिर पर्यटक नगए पनि बजेट राखियो, तर आफैँ स्वतस्फूर्त पर्यटक पुग्ने इलाजमजस्ता ठाउँहरू बजेटमा ओझेल परे । बजेटले देश चिन्न र सम्भावना बुझ्न नसकेको उनले गुनासो गरे ।
त्यस्तै, सांसद एकनाथ ढकालले १६ लाख पर्यटक भित्र्याउने लक्ष्य हासिल भए पनि यति संख्याको पर्यटकले देशलाई फाइदा नपुग्ने बताए । ‘कस्तो पर्यटक भित्र्याउने भन्ने प्रमुख विषय हो, नेपालको हितका लागि पहिलो प्राथमिकता सौन्दर्य र धार्मिक पर्यटक हो,’ उनले भने, ‘अझै भन्नुपर्दा हिन्दू र बुद्धिस्ट पर्यटक नै नेपालको प्राथमिकतामा हुनुपर्छ ।’
सांसद ढकालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण कार्य कहिले सुरु भएर कहिले सम्पन्न हुन्छ भनेर प्रश्नसमेत गरेका छन् । उनले त्रिभुवन विमानस्थललाई सुविधायुक्त र सुरक्षित बनाउँदै पूर्ण क्षमतामा सञ्चालन गर्न सरकारले बजेटमा साधन–स्रोतको अभाव हुन दिन नहुने पनि बताए ।
सांसद दुर्गा राईले बजेटले नागरिक उड्डयन क्षेत्रलाई छुन नसकेको बताइन् । बजेट पर्यटन प्रवद्र्धनमा केन्द्रित हुनुपर्नेमा त्यसो नभएको उनको गुनासो थियो । अर्का सांसद मनबहादुर गुरुङले भने क्यासिनो खेलाएर विकास गरेका देश पनि सुनेको र जुनकिरी हेर्न हजारौँ पर्यटक भित्र्याएका देश पनि सुनेको बताए । ‘मरुभूमि देशले पर्यटक भित्र्याएको पनि देखियो । १२ महिनामा नौ महिना हिउँ जम्ने देशले पनि पर्यटनबाट फाइदा लिएर धनी भइसके । तर, हाम्रो देशमा पर्यटनको पर्याप्त सम्भावना भएर पनि पर्यटक भित्र्याउन सकेनौँ । पर्यटन मन्त्रालयले पर्यटक आउने वातावरण बनाइदिए पुग्छ,’ उनले भने ।