प्रधानमन्त्रीसँग प्रश्नोत्तर ६ असारमा

शुक्रबार, ३२ जेठ, २०८१
डिजिटल संस्करण

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम ६ असारमा हुने भएको छ। सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आगामी बिहीबार प्रश्नोत्तर कार्यक्रम तय गरिएको जानकारी शुक्रबारको प्रतिनिधिसभा बैठकमा गराएका हुन्।

सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावलीअनुसार प्रश्नोत्तरमा भाग लिनका लागि २ असारको ३ बजेभित्र प्रश्न बुझाउन अनुरोधसमेत गरेका छन्। 

नियमावलीअनुसार हरेक महिनाको पहिलो साताको कुनै बैठकमा पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुन्छ। प्रश्नोत्तरका लागि तीन दिनअगावै संसद् सचिवालयमार्फत सांसदहरूले प्रधानमन्त्री कार्यालयलाई प्रश्न बुझाउँछन्। 

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा क्रमअनुसार समूह विभाजन गरेर प्रश्न सोध्ने व्यवस्था गरिएको छ। यसपटक समूह पाँचमा रहेका सांसदहरूले प्रश्न गर्न सक्नेछन्। यसअघि सहकारी प्रकरणमा संसदीय छानबिनको विषयले संसद् अवरुद्ध हुँदा जेठमा प्रश्नोत्तर प्रभावित भएको थियो।

सुझावित समाचार