विश्व रक्तदाता दिवस (जुन १४) का लागि विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले तय गरेको विश्वव्यापी नारा हो– ‘रक्तदातालाई धन्यवाद अर्पणको बीसौँ वार्षिक समारोह !’ यही मूल नाराका साथ संसारभर एकसाथ विश्व रक्तदाता दिवस आज मनाइँदै छ ।
सन् २००४ देखि सुरुवात गरी आजसम्म आइपुग्दा २०औँ वर्षले पूर्णता पाई २१औँमा प्रवेश गरेको दिन हो । प्रत्येक वर्ष फरक–फरक नारासाथ यो दिवसलाई विश्वभर मनाउने गरिन्छ । नेपालमा हामी स्वयंसेवी रक्तदाता र रक्तदान कार्यक्रम आयोजकको छाता संगठन नेपाल स्वयंसेवी रक्तदाता समाजद्वारा देशभर आफ्ना जिल्ला शाखा, नगर÷गाउँ पालिकास्तर, नगर÷गाउँ वडा समितिस्तरमा विविध कार्यक्रम आयोजना गरी मनाइरहेका छौँ ।
दिवसका लागि तय गरिएको नारालाई सार्थक तुल्याउन सके मात्र त्यस दिनको औचित्य पुष्टि हुनेछ । हामी दिवसका लागि दिवस मनाउँछौँ । तय गरेको बजेट सकाउँछौँ । दिनुपर्ने सन्देश, अनुभूति दिलाउने कार्य व्यवहारमा कमै मात्र लागू गरिएको पाउँछौँ । रगत र रक्तदाताहरूको सन्दर्भमा पनि यसरी निहित स्वार्थरहित कार्य सम्पादन गर्ने गरेको पाइएको छैन । आज हामी दुई दशकको पूर्ण वर्षगाँठमा छौँ । रक्तदातालाई धन्यवाद र सम्मान जाहेर गर्दै स्वयंसेवी रक्तदाताप्रति समर्पणभाव प्रस्तुत गरिरहेका छौँ । यो आजको दिन मात्र सीमित राखिनुहुन्न । यो भावनाले निरन्तरता पाइरहनुुपर्छ । यो पुनीत दिनमा सम्पूर्ण स्वयंसेवी रक्तदातालाई हार्दिक धन्यवाद व्यक्त गर्दै सम्मान जाहेर गर्छाैं ।
स्वयंसेवी रक्तदातालाई कतिपटक दान गर्यो भन्ने गनेर होइन, प्रत्येकपटक सम्मान र प्रोत्साहन गरिनु जरुरी छ
हाम्रो देशमा रक्त सञ्चारको इतिहास सर्सर्ती हेर्ने हो भने सुरुको वर्षमा जम्मा १५७ जनाद्वारा रक्तदान गराइएको अभिलेख पाइन्छ । जसमा नगन्य मात्रामा स्वयंसेवी रक्तदाता थिए । अधिक मात्रामा पेसेवर रगत विक्रेता थिए । तत्कालीन समयमा परोपकारका स्वयंसेवकले नै दानस्वरूप रक्तदान गर्ने गरेका थिए ।
एकथरी पीडित (बिरामी) का आफन्तले शोधभर्ना स्वरूपमा रगत उपलब्ध गराउने गर्थे भने अर्काथरी आफ्नो शरीरको रगत बिक्री गर्ने थिए । जसलाई हामी पेसेवर रक्तदाता भन्ने गर्छाैं । यसरी सुरुका वर्षभरिमा जम्मा १५७ जनाले रगत उपलब्ध गराएको र अहिले आएर यो संख्या लाखौँमा वृद्धि भइसकेको छ । २०३८/३९ सालदेखि त पूर्ण तवरले स्वयंसेवी रक्तदाताबाट मात्र रक्तदान गराउने सफलता प्राप्त भएको छ ।
हाम्रो देशमा रक्त सञ्चारको सरकारी नीतिको प्रादुर्भाव भएको आजभन्दा तीन दशकपहिले हो । ०५० देखि यसलाई लागू गरिएको हो । यस नीतिलाई दुईपटक परिमार्जन पनि गरिसकिएको छ । रक्त सञ्चार सेवालाई दरिलो र भरपर्दाे बनाई सेवा प्रदान गर्न सरकारी नीतिमा अर्थ मन्त्रालय र स्वास्थ्य मन्त्रालयको गहन भूमिका हुन जरुरी छ ।
कुनै पनि रक्त सञ्चार सेवा सञ्चालनमा ल्याउन त्यस देशमा तर्जुमा गरिएको नीतिले सघाएको हुन्छ । त्यसलाई श्रेणीमा विभक्त गरिएको हुन्छ । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयमातहत रहेको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाद्वारा गठित राष्ट्रिय रक्त सञ्चार ब्युरो, ०७१ क्रियाशील छ । तर, यो ब्युरो पनि त्यति प्रभावकारितासाथ आफ्नो काम कर्तव्यमा तल्लीन भएको देखिन्न । यो प्रवृत्तिले स्वयंसेवी रक्तदाताको रगत पीडितसमक्ष पुग्दा आर्थिक चलखेल गर्नेहरूका लागि मौका मिलिरहेको अवस्था छ ।
सक्षम जनशक्ति, दरिलो आर्थिक स्रोत, नाफारहित सेवा, अत्याधुनिक प्रविधिको विकास र सुविधासम्पन्न भौतिक संरचना आजका केही चुनौती हुन् । जसलाई सम्बोधन केवल नेपाल सरकारले मात्र गर्न सक्छ । आफ्ना नागरिकको स्वास्थ्यमा सहज पहुँच पु¥याउन सरकारले यथाशक्य सेवाभावले सुधारका कदम चाल्न विलम्ब गर्नु हुँदैन ।
राज्यले वर्ष दिनमा कुर्लेर भाषण गर्ने गर्छ । दुई वर्षअघि ०७८/७९ को बजेटमा प्रादेशिक संरचनाअन्तर्गत रक्त सञ्चार सेवा पु¥याउने लक्ष्य राखिएको थियो । तर, नागरिकले त्यसको अनुभुूति गर्न पाइरहेका छैनन् । रक्त सञ्चार सेवालाई ०७७ मा तय गरिएको नीतिअनुसार पाँच श्रेणीमा विभाजन गरिएको छ । रक्त सञ्चार सेवा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको अति संवेदनशील एउटा महत्वपूर्ण सेवा हो । यो निःशुल्क भनिए पनि सशुल्क भइरहेको छ । त्यो पनि चाहिनेभन्दा बढी रकम असुलिरहेको अवस्था छ ।
रक्त व्यवस्थापनको यस क्षेत्रमा योग्य जनशक्तिको अभाव भने आजसम्म पनि खड्किरहेको छ । स्वास्थ्य क्षेत्रमा अति संवेदनशील मानिएको रक्त सञ्चार सेवालाई सरकारले पूर्ण दायित्वबोधसाथ कार्यान्वयन गर्नुको साटो उपेक्षित गरिएको वर्तमान अवस्था छ । राष्ट्रिय रक्त सञ्चार ब्युरोको काम, कर्तव्य र अधिकार अति गहन छ । तर, कार्यान्वयन पक्ष अति नै फितलो छ । यसले हरेक रक्त सञ्चार सेवालाई श्रेणीगत नियमन र व्यवस्थापन पक्षलाई सुदृढीकरण गर्दै रगतको माग र आपूर्तिमा संयोजन ल्याउन सक्नुपर्छ । तुलनात्मक रूपमा विगतदेखि वर्तमानसम्म आइपुग्दा सुधार नभएको पनि होइन । तर, समयसापेक्ष हुन भने सकेको छैन ।
विश्व रक्तदाता दिवसलाई केवल रक्तदातामा मात्र सीमित राखिनुहुन्न । एउटा स्वयंसेवी रक्तदाता तयार पार्न हरेक व्यक्तिको योगदान हुन्छ । स्वयंसेवी रक्तदातालाई पटक गनेर सम्मान गरिने कार्यमा परिवर्तन गर्न जरुरी छ । जीवनमा पहिलोपटक रक्तदान गर्नेले अर्कोपटकलाई दोस्रो भन्न पाउनेछ । प्रत्येक स्वस्थ युवायुवतीले आफ्नो १८औँ वर्षको जन्मोत्सवसँगै रक्तदानको शुभारम्भ गरौँ ! भन्ने नारालाई जबसम्म सम्बन्धित निकायले आत्मसात् गर्दैन, तबसम्म सही तवरले नयाँ–नयाँ स्वयंसेवी रक्तदाताको संख्या वृद्धि हुन सक्दैन ।संसारभर एकसाथ मनाइने यो विश्व रक्तदाता दिवसले स्वयंसेवी रक्तदातालाई एकताबद्ध गराओस्, सबैको सम्मान गरोस्, शुभकामना !
(कर्माचार्य नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रीय अध्यक्ष हुन्)