मोहनचरण माझी बने उडिसाका मुख्यमन्त्री

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

मोहनचरण माझीले बुधबार उडिसाको पहिलो ‘भारतीय जनता पार्टी (भाजपा)’ सरकारको मुख्यमन्त्रीका रूपमा शपथ लिएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा उडिसाको भुवनेश्वरस्थित जनता मैदानमा शपथ ग्रहण समारोह भएको थियो । माझीसँगै दुई उपमुख्यमन्त्री कनक वर्धन सिंह देव र प्रवती परिडाले पनि शपथ लिए । उडिसाका गभर्नर रघुवर दासले मुख्यमन्त्रीलाई शपथ गराएका थिए । चौबीस वर्षसम्म उडिसाको मुख्यमन्त्री रहेका बिजु जनता दल (बिजद) का नेता नवीन पटनायक पनि समारोहमा उपस्थित थिए । 

आमनिर्वाचनसँगसँगै उडिसामा सम्पन्न भएको विधानसभा निर्वाचनमा भाजपाले धेरैलाई आश्चर्यचकित बनाउँदै राज्यमा लामो समयदेखि शासन गर्दै आएको बिजदलाई हराउन सफल भएको थियो । यसबाट बिजदको २४ वर्ष पुरानो शासनकालको अन्त्य भएको छ । सन्थाली जनजाति समुदायका ५२ वर्षीय माझी राज्यको किनझार जिल्लाका बासिन्दा हुन् । उनी मंगलबार उडिसामा भाजपा विधायक दलको नेता निर्वाचित भएका थिए । सन् १९९७ देखि २००० सम्म सरपञ्च रहेर आफ्नो राजनीति सुरु गरेका माझी सन् २००० मा पहिलोपटक किनझारबाट प्रदेश सभामा निर्वाचित भएका थिए । त्यसपछि सन् २००४ मा उनी पुनः निर्वाचित भए । सन् २००५ देखि २००९ सम्म उनी बिजद–भाजपा गठबन्धन सरकारमा उपप्रमुख सचेतक थिए । सन् २०१९ माझी फेरि विधायकका रूपमा निर्वाचित भए । उडिसा विधानसभा चुनावमा भाजपाले कुल १४७ मध्ये ७८ सिट जितेको छ । 

उता तेलगु देशम पार्टी (टिडिपी)का प्रमुख एन चन्द्रबाबु नायडूले पनि बुधबार नै आन्ध्र प्रदेशको मुख्यमन्त्रीको शपथ लिए । शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, केन्द्रीय मन्त्री अमित शाह, जेपी नड्डा, नितिन गडकरीदेखि तेलगु फिल्मका मेगास्टारहरू चिरञ्जीवी र तमिल फिल्म सुपरस्टार रजनीकान्तलगायतको उपस्थिति थियो । नायडूले आन्ध्र प्रदेशको मुख्यमन्त्रीका रूपमा कार्यभार ग्रहण गरेको यो चौथोपटक र सन् २०१४ मा राज्य विभाजनपछिको दोस्रोपटक हो । हालै सम्पन्न निर्वाचनमा आन्द्र प्रदेश राज्यमा टिडिपी–भाजपा–जनसेनासहितको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडिए)ले अधिकांश विधानसभा सिट र संसदीय सिट हात पार्न सफल भएको छ । 

सुझावित समाचार