आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा अमेरिकालाई पाखा लगाउँदै भारत विजयी भएको छ ।अमेरिकाको न्युयोर्कमा गएराति सम्पन्न खेलमा अमेरिकालाई सात विकेटले हराउँदै भारत विश्वकपको सुपर एटमा पुगेको हो । लगातार तेस्रो जित हात पारेको भारत ६ अंक जोड्दै समूह ‘ए’बाट सुपर एटमा प्रवेश गर्ने पहिलो टोली बन्यो । सोही समूहमा रहेको अमेरिका तीन खेलबाट चार अंकसहित दोस्रो स्थानमा छ । पाकिस्तान र क्यानडाको समान दुई अंक छ । आयरल्यान्डले अंक खाता खोल्न सकेको छैन ।
खेलमा अमेरिकाले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै एक सय ११ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा भारतले १८.३ ओभरमा तीन विकेट गुमाउँदै लक्ष्य पूरा गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
भारतका लागि सूर्यकुमार यादवले ४९ बलमा दुई चौका र दुई छक्कासहित सर्वाधिक ५० रनको योगदान दिए । त्यस्तै ऋषभ दुबेले ३१ रन बनाए भने ऋषभ पन्तले १८ रनको योगदान दिए ।
अमेरिकाका सौरभ नेत्रवालकरले दुई विकेट लिए भने अली खानले एक विकेट झारे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिकाका ओपनर सायन जहान्गिरलाई अर्षदीप सिंहले पहिलो बलमै आउट गर्दै दबाब दिएका थिए । त्यसपछि नीतीश कुमारले २३ बलमा सर्वाधिक २७ रनको योगदान गरे भने अर्का ओपनर स्टेभन टेलरले ३० बलमा २४ रन बनाए ।
भारतका अर्षदीप एक्लैले चार विकेट लिए भने हार्दिक पाण्डेयाले दुई तथा एक्सर पटेलले एक विकेट लिए ।