मौसम : काठमाडौं उपत्यकाको तापक्रम आज पनि उच्च रहने

बिहिबार, ३१ जेठ, २०८१
डिजिटल संस्करण

हाल देशका पूर्वी भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भूभागमा स्थानीय र पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यूनचापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । कोशी, मधेश प्रदेश र बागमती प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ भने बाँकी भागमा  मौसम  सफा छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

विभागका मौसमविद् गोविन्द झाका अनुसार काठमाडौं उपत्यकामा स्थानीय वायुको प्रभावले आज अपराह्नतिर केही स्थानमा छिटपुट वर्षा हुने सम्भावना छ । यद्यपि, तापक्रम उच्च नै रहनेछ ।  मनसुन भित्रिन अझै केही दिन लाग्नेछ । शनिबारदेखि यहाँ आंशिक बदली हुनेछ । यहाँको अधिकतम तापक्रम ३१ देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । 

आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसमसफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

विभागका अनुसार आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी र मधेश प्रदेशका तराईका केही स्थानहरूमा हुरी चल्ने सम्भावना रहेको छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी  प्रदेशका पहाडी भागका केही स्थानमा तथा बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले कोशी प्रदेश र मधेश प्रदेशका तराईका केही स्थानमा हुरीको सम्भावना रहेकोले सतर्कता अपनाउन अनुरोध गरेको  छ । 

See More On

सुझावित समाचार