प्रतिनिधिसभाको आजको बैठकमा नेपाल क्रिकेट संघ (क्यान)भित्र अनियमितता भएको दाबी गर्दै त्यसको छानबिन गर्न माग गरिएको छ।
बैठकको आकस्मिक समयमा नेकपा (एमाले)का सांसद भीमप्रसाद आचार्यले संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा भइरहेको आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा क्यानले सन्दीप लामिछानेलाई १५ सदस्यीय टोलीमा समावेश नगरेको, राम्रो खेलाडीलाई हटाएर टोलीलाई हराउन लागेको र अमेरिकामा उठाएको चन्दा क्यानले आफ्नो खातामा नराखी दुरुपयोग गरेको विषय बाहिर आएको उल्लेख गरेका हुन्।
सांसद आचार्यले ब्याट र नेपालको जर्सीमा रकम हिनामिना भएको, नेपालीले प्राप्त गरेको चार सय टिकट र २० ‘भिआइपी पास’ पनि अवैध रूपमा बिक्री गरेकोलगायत विषयमा गुनासो आएकाले यस विषयमा सरकारले तत्काल छानबिन गर्नुपर्ने माग गरे।